धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले मनसुनी बर्षादमा विपद् व्यबस्थापन तथा प्रकाेप न्यूनिकरण गर्न प्रत्येक जिल्लामा ५ सदस्यीय कार्यदल गठन गरेकाे छ । मुख्यमन्त्री त्रिलाेचन भट्टकाे अध्यक्षतामा हालै बसेकाे प्रदेश विपद व्यबस्थापन परिषदकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे ।
मुख्यमन्त्री भट्टकाे स्वकीय सचिवालयले दिएकाे जानकारी अनुसार बैठकले मनसूनी पूर्वतयारी तथा प्रतिकार्य कार्ययाेजना २०७९ बनाएर सबै मन्त्रालय प्रदेशस्थित सबै सुरक्षा निकाय जिल्ला विपद् व्यबस्थान समितिहरुलाई विपद् पूर्वतयारी गरी धनजनकाे क्षति हुन नदिन र सवारी आवागमन सुचारु राख्न आवश्यक पर्ने जनशक्ति, हेभी इक्विपमेन्ट, ढुङ्गा, रबर बाेट एवं अन्य व्यबस्थापकीय कार्यहरु समन्वयात्मक र प्रभावकारी बनाउने निर्णय गरेकाे छ। यसकालागि तीनवटै सुरक्षा निकायलाई तत्काल दश/दश लाख रुपियाँ र नाैवटै जिल्ला विपद् व्यबस्थान समितिहरुलाई पाँच/पाँच लाखका हिसावले रकम उपलब्ध गराउने निर्णय गरेकाे छ ।
यस्तै बैठकले विपद् पीडितलाई प्रदेश विपद् व्यबस्थाप तथा रहात वितरण निर्देशिका २०७६ बमाेजिम रहात रकम तत्काल वितरण गर्न आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई जिम्मेवारी दिएकाे छ । उक्त निर्णय अनुसार प्रदेश सरकारवाट प्रदान गरिने रहात वितरण गर्ने कार्यमा प्रत्येक जिल्लामा आन्तरिक मामिला तथा कानून मन्त्रालयले ताेकेकाे प्रतिनिधी वा प्रदेशस्तर कार्यालयकाे प्रतिनिधिकाे संयाेजकत्वमा जिल्ला प्रशासन कार्यालय प्रतिनिधि, विपद् घटेकाे स्थानीय तहकाे विपद् सम्पर्क व्यक्ति, नेपाल प्रहरी, नेपाल रेडक्रस वा विपद सम्बन्धि कार्य गर्ने गैरसरकारी संस्थाकाे प्रतिनिधि सम्मिलित ५ सदस्यीय कार्यदल बनाउने निर्णय गरेकाे छ ।