‘प्रविधिसम्बन्धी सीप विकासका क्षेत्रमा सहकार्य गर्न प्रतिबद्ध छाैं’

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले एआई प्रविधिसम्बन्धी सीप विकासका क्षेत्रमा आवश्यक सहकार्य गर्न प्रदेश सरकार प्रतिबद्ध रहने बताएका छन् । विद्यार्थीलाई कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको प्रयोग, सम्भावना र सुरक्षित तथा जिम्मेवार उपयोगबारे जानकारी दिने उद्देश्यले ‘एआई फर नेपाल २०२६’ अभियानकाे धनगढीमा उद्घाटन गर्दै यस्ताे बताएका हुन् ।

मुख्यमन्त्री भट्टले एआई प्रविधिको विस्तारसँगै यसले सिर्जना गर्ने अवसर र चुनौतीलाई समान रूपमा बुझ्न आवश्यक रहेको बताउँदै शिक्षा, स्वास्थ्य, कृषि तथा सार्वजनिक सेवा प्रवाहमा एआईको प्रयोग बढाउन सके सेवा र कामलाई थप प्रभावकारी बनाउन सकिने बताए । प्रविधिको प्रयोगसँगै त्यसबाट हुन सक्ने दुरुपयोग र जोखिमबारे विद्यार्थीलाई सचेत गराउनुपर्नेमा जोड दिँदै मुख्यमन्त्री भट्टले विद्यार्थी लक्षित कार्यक्रम सञ्चालन गरेकोमा क्यान महासंघलाई धन्यवाद दिए। उनले प्रविधिसम्बन्धी सीप विकासका क्षेत्रमा प्रदेश सरकारबाट आवश्यक सहकार्य गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) सुदूरपश्चिम प्रदेशको आयोजनामा बिहीबार धनगढीमा आयोजित अभियानको पहिलो कार्यक्रममा विभिन्न विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत ४ सयभन्दा बढी विद्यार्थी सहभागी भएका थिए। कार्यक्रममा विद्यार्थीलाई एआईका विभिन्न उपकरणको प्रयोग, एआईको सहायताले सामग्री तथा लेखन तयार गर्ने तरिका, तथ्यांक तथा सूचना व्यवस्थापन र दैनिक कामलाई सहज बनाउन एआईको उपयोग गर्ने विषयमा प्रयोगात्मक अभ्यास गराइएको थियो।

त्यस्तै, एआईको प्रयोग गर्दा व्यक्तिगत विवरणको सुरक्षा, साइबर जोखिम तथा प्रविधिको दुरुपयोगबाट बच्ने उपायबारे पनि विद्यार्थीलाई जानकारी दिइएको थियो। कार्यक्रममा क्यान महासंघका केन्द्रीय कार्यवाहक अध्यक्ष तथा वान कभर प्राइभेट लिमिटेडका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत चिरञ्जीवी अधिकारीले विद्यालय तहबाटै एआईसम्बन्धी आधारभूत ज्ञान र सीप प्रदान गर्न आवश्यक रहेको बताए। उनले विद्यार्थीलाई एआईका प्रयोगकर्ता मात्र नभई सिर्जनाकर्ता र समस्या समाधानकर्ता बनाउने अभियानको उद्देश्य रहेको बताए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.