
धनगढी । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि गराउने उद्देश्यले सुदूरपश्चिम प्रदेश खेलकूद परिषदले खेलाडी छनोट प्रतियोगिता सुरु भएको छ । कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिमले ३० वटा खेलका खेलाडी छनोट गर्दैछ ।
प्रदेश खेलकुद परिषद्को आयोजनामा सुरु भएको प्रदेशस्तरीय छनोट प्रतियोगिता मंसिर १ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिता कैलाली, कञ्चनपुर र डडेल्धुरामा आयोजना गरिएको छ । धनगढी रंगशालामा आयोजित उद्घाटन कार्यक्रममा मुख्यमन्त्री खगराज भट्टले प्रतियोगिताको उद्घाटन गरे । उद्घाटन कार्यक्रममा मुख्यमन्त्री भट्टले खेलकुद मानिसलाई अनुशासित बनाउने महत्वपूर्ण माध्यम भएको बताउदै प्रदेश सरकारले आफ्नो क्षमता र स्रोतअनुसार खेल क्षेत्रको विकासमा सहकार्य गर्ने बताए ।
उता डडेल्धुरामा महिला तथा पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुनेछ । कैलालीमा फुटबल, एथलेटिक्स, क्रिकेट, बास्केटबल, ह्यान्डबल, ब्याडमिन्टन, टेबलटेनिस, बुद्धिचाल, बक्सिङ, उसु, खोखो, सुटिङ, जिम्न्यास्टिक, रग्बी, भारोत्तोलन, शारीरिक सुगठन र ई–स्पोर्ट्सका खेल सञ्चालन हुने प्रदेश खेलकुद परिषद्का सदस्यसचिव लोकबहादुर खड्काले जानकारी दिए । त्यस्तै, कञ्चनपुरमा कबड्डी, तेक्वान्दो, कराँते, फुलकन्ट्याक्ट कराँते, आईटीएफ तेक्वान्दो, कुस्ती र जुडोका खेल सञ्चालन हुनेछन् ।
प्रदेशका नौवटै जिल्लाबाट छनोट भएर आएका दुई हजार ४६४ खेलाडीले प्रदेशस्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । खेलाडी, प्रशिक्षक र अफिसियल गरी ७४४ जनाको सहभागिता रहने परिषद्ले जनाएको छ । कार्यक्रममा प्रदेशकी सामाजिक विकासमन्त्री सन्तोष शर्मा थापाले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरेकी थिइन् ।
