
काठमाडौं । विराटनगर किंग्सलाई ४ विकेटले पराजित गर्दै साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को क्वालिफायरमा प्रवेश गरेको छ । आज शनिवार भएकाे खेलमा विराटनगर किंग्सले दिएको १६७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १९.५ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो ।
लिग चरणको ७ वटै खेल खेलिसकेको विराटनगर भने यो हारपछि ६ अंकसहित पाँचौ स्थानमै सिमित रह्यो र लिग चरणबाट बाहिरियो । कर्णाली याक्स, जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स यसअघि नै प्लेअफ होडबाट बाहिरिसकेका छन् । यसअघि नै प्लेअफमा स्थान पक्का गरिसकेको लुम्बिनीले लिग चरणमा ७ खेलबाट ११ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ र शीर्ष दुईमा रहने पक्का भएको हो ।
लुम्बिनीलाई जितका लागि अन्तिम दुई ओभरमा ३२ रन आवश्यक थियो । सन्दिप जोराले १९औं ओभरमा विराटनगरका इसुरु उडानालाई दुई छक्का र एक चौका गर्दा १७ रन जोडे । अन्तिम ओभरमा १६ रन आवश्यक रहेको बेला लुम्बिनीका अली शेखले विराटनगरका रुपेश सिंहलाई पहिलो बलमै छक्का प्रहार गरे । उक्त बल नो बल भएपछि शेखले थप फ्रि हिटमा २ रन पनि थपे । त्यसपछि दोस्रो बलमा अली र तेस्रो बलमा सन्दिप जोराले १–१ रन लिए ।
चौथो बलमा ठूलो सट खेल्ने धुनमा अली शेख इसुरु उडानाबाट क्याचआउट भए । लुम्बिनीलाई जितका लागि २ बलमा ५ रन आवश्यक हुँदा क्रिजमा आएका रुबेन ट्रम्पलम्यानले रुपेश सिंहलाई छक्का प्रहार गर्दै लुम्बिनीलाई रोमाञ्चक जित दिलाए । यसअघि ओपनरद्वय डार्शी सर्ट र आसिफ शेखले समान ४५ रन बनाए । पहिलो विकेटका लागि यो जोडीले ११.५ ओभरमा ८६ रनको साझेदारी गरेका थिए । तर दुवै खेलाडी बउट भएपछि लुम्बिनीले नियमित अन्तरालमा विकेट गुमायो ।
निरोशन डिकवेला र दिलिप नाथ खाता नखोली आउट भए भने कप्तान रोहित पौडेल ९रन बनाएर रनआउट भए । विराटनगरका अपराजित पौडेलले १३औं ओभरमा डिकवेला र नाथलाई लगातार आउट गरेपछि विराटनगरले खेलमा पुनरागन गरेको थियो । यसै खेलबाट एनपीएलमा डेब्यु गरेका अमेरेकी अलराउण्डर अली शेख र सन्दिप जोराले छैटौं विकेटका लागि ४२ रनको महत्वपूर्ण साझेदारी गरे ।
शेरखले १९ बलमा १ चौका र २ छक्का मदतमा २७ रन योगदान गरे । जोराले आक्रमक ब्याटिङ गर्दै ११ बलमा १ चौका र ३ छक्का मदतमा अविजित २५ रन जोडे । ट्रम्पलम्यानले १ बलमै छक्का प्रहार गर्दै लुम्बिनीको जित पक्का गरेका थिए ।
