
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले नेपालीहरूको सांस्कृतिक तथा धार्मिक पर्व दीपावलीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन्।
दीपावलीका अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री भट्टले सुख, शान्ति, सुवास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेका हुन्। उनले दीपावली उज्यालो, उमङ्ग, आपसी सद्भाव, भाइचारा र एकताको प्रतीक भएको उल्लेख गरेका छन्। यस पर्वले अन्धकारमाथि उज्यालो, असत्यमाथि सत्य र निराशामाथि आशाको विजयको सन्देश दिने उनको भनाइ छ।
विविध जातजाति, भाषा, धर्म, संस्कृति र परम्पराले समृद्ध नेपाली समाजमा यस्ता पर्वले सामाजिक सद्भाव, सांस्कृतिक एकता र आपसी आत्मीयतालाई थप प्रगाढ बनाउँदै आएको भन्दै मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेशको समृद्धि, विकास र समुन्नतिका लागि हातेमालो गर्दै अघि बढ्न सबैमा आह्वानसमेत गरेका छन्।
दीपावलीले हरेक घरपरिवारमा खुसी, शान्ति र समृद्धिको उज्यालो छर्न सकोस् भन्ने कामना उनले गरेका छन्।
