Dashain Suvakamana

छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

Ajai

धनगढी । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो ।

चार दिनसम्म अत्यन्त निष्ठाका साथ मनाइने यस पर्वको पहिलो दिन अर्थात् कार्तिक शुक्ल चतुर्थीलाई ‘नहाय–खाय’ भनिन्छ । यस दिन व्रतालुहरूले बिहानै स्नान गरी, हातगोडाका नङ काटेर घर सफा गर्दछन् र चोखो भात, दाल तथा लौकाको तरकारीलगायतका सात्त्विक भोजन ग्रहण गर्दछन् । पर्वको दोस्रो दिन पञ्चमीलाई ‘खरना’ भनिन्छ, जसमा व्रतालुहरूले दिनभरि निराहार उपवास बसेर साँझपख पवित्र जलाशयमा स्नान गर्दछन् । त्यसपछि दूध, चामल र सख्खरबाट बनेको खीर (रसियाखीर) पकाएर प्रसादका रूपमा ग्रहण गरी मुख्य व्रतको सुरुआत गर्दछन् ।

पर्वको तेस्रो दिन अर्थात् षष्ठीका दिन ‘सन्ध्या अर्घ्य’ दिइन्छ । यस दिन निराहार रहेका व्रतालुहरू साँझपख खोला, नदी, पोखरी तथा जलाशयमा कम्मरसम्म पानीमा उभिएर अस्ताउँदो सूर्यलाई पूजाआजासहित अर्घ्य अर्पण गर्दछन् र रातभर नदी किनारमै जाग्राम बसी भजनकीर्तनमा लीन हुन्छन् ।

पर्वको चौथो तथा अन्तिम दिन सप्तमीमा ‘उषा अर्घ्य’ दिने गरिन्छ। बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ्य दिएर पूजा विसर्जन गरिएपछि व्रतालुहरूले प्रसाद ग्रहण गर्दछन् र आफन्तजन तथा श्रद्धालुहरूलाई बाँडेर चार दिने कठोर व्रत समापन गर्दछन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.