सुदूरपश्चिममा पहिलाे पटक सुस्तश्रवण अपाङ्गताका समस्याबारे तालिम

धनगढी । सुदूरपश्चिममा पहिलाे पटक सुस्तश्रवण अपाङ्गताका समस्याबारे दुई दिने तालिम सम्पन्न भएकाे छ । विहीवार र शुक्रबार कैलालीकाे धनगढीमा राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिम प्रदेश समितिकाे समन्वयमा श्रुति संस्थाले तालिमकाे आयाेजना गरेकाे हाे ।

राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिम प्रदेश सचिव नरदीप धामीका अनुसार तालिमबाट डेढ दर्जन सुस्तश्रवण अपाङ्गता भएका व्यक्तिहरु लाभाविन्त भएका छन् । अपाङ्गता अधिकार ऐन, २०७४ मा अपाङ्गताको परिभाषामा समावेश गरेको परिभाषाअनुसार सुन्नका लागि श्रवण यन्त्रको प्रयोग गर्नुपर्ने वा ६५ देखि ८० डेसिबलसम्मको ध्वनि सुन्न सक्ने व्यक्तिलाई सुस्तश्रवण अपाङ्गता भनिएको छ । यस्तो समस्या भएका व्यक्तिहरू कान कम सुन्ने तर कम सुनेर सफासँग बोल्न सक्ने, सुन्नका लागि श्रवण यन्त्र प्रयोग गर्ने गर्छन् । यस्ता व्यक्तिहरूले कान कम सुन्ने भएका कारण पारिवारिक तथा सामाजिक रूपमा विभिन्न समस्याहरूको सामना गर्न परेको श्रुति संस्थाका अध्यक्ष निता केशरी भट्टराईले जानकारी दिइन् ।

सुस्तश्रवण भएका व्यक्तिहरूले राम्ररी कान नसुन्ने भएका कारण उनीहरूसँग घर परिवारका व्यक्तिहरू तथा समाजका व्यक्तिहरू बोल्न नखोज्ने, उनीहरूका कुरा नबुझेर सोधेमा रिसाउने, झर्किने गरेको पाइन्छ । त्यसै गरेर उनीहरूले राम्ररी सुन्न नसकेका कारण विद्यालय तथा क्याम्पस स्तरको शिक्षा लिनमा पनि समस्या भोग्नु परेको छ । सुस्तश्रवण भएकै कारण विद्यालय स्तरको शिक्षा लिनमा कठिनाइ भएपछि आफूले चाहेर पनि शिक्षा लिने अवसरबाट वञ्चित हुनु परेकाे तालिममा सहभागी कैलारीकी निलम चाैधरीकाे गुनासाे थियाे। यस्तो अवस्थामा आफुले शैक्षिक योग्यता प्राप्त गर्न नसकेकाे र चाहे अनुसारको रोजगारीमा सहभागिता हुन पनि कठिनाइ भैइरहेकाे उनकाे भनाई थियाे ।

सुस्तश्रवण भएका व्यक्तिहरूका लागि श्रवण यन्त्रको आवश्यक हुन्छ । साथै सांकेतिक भाषाको पनि त्यति नै जरुरी हुन्छ तर उनीहरूको आर्थिक अवस्था कमजोर भएका कारण आफूलाई मिल्ने श्रवण यन्त्र किन्न सक्दैनन् र समाजमा सधैं एक्लो भएर जीवन बिताउन बाध्य हुन्छन् । उनीहरूले प्रयोग गर्ने श्रवण यन्त्र पनि ज्यादै महँगो हुने हुँदा किन्न पनि नसक्ने भएका कारण यत्तिकै बस्नुपर्ने, रोजगारीबाट वञ्चित हुनुपर्ने लगायतका समस्याहरूको सामना गरेको पाइन्छ ।

सुस्तश्रवण अपांगता भएका व्यक्तिहरूमा पनि कतिपयलाई श्रवण यन्त्र, सांकेतिक भाषा तथा क्याप्सनिङको आवश्यकता हुन्छ । (क्याप्सनिङ भनेको अरूले भनेको कुरालाई कम्प्युटरमा लेखेर अगाडि स्क्रिनमा देखाउनु हो) तर हाम्रो समाजमा सर्वसुलभ रूपमा यस्ता व्यवस्थाहरूको विकास हुन नसकेको राष्ट्रिय अपाङ्ग महासंघ केन्द्रीय सदस्यसमेत रहेकी स‌स्थाकी अध्यक्ष निता केशरी भट्टराईले बताइन्। तालिममा अध्यक्ष भट्टराईकासाथै काेपिला हुमागाई र पल्लबी थापाले सहजिकरण गरेका थिए ।

समुह गठन 

तालिम पश्चात कैलाली-कञ्चनपुरका सहभागिबाट समुह गठन गरिएकाे छ । जसकाे अध्यक्षमा परिवर्तन काेईराला, उपाध्यक्षमा निलम चाैधरी, सचिबमा बिरेन्द्र सिंह राना र काेषाध्यक्षमा दल बहादुर बाेहरा चयन भएका छन् ।

यस्तै सदस्यहरुमा खिमा कुमारी बडैला, प्रियंका कुमारी चाैधरी, मेघराज अवस्थी, उनराज बुढा र नरेश बहादुर कपड्याल रहेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.