धनगढीमा सुरु भयाे सुदूरपश्चिम महाेत्सव

धनगढी । कैलालीको धनगढीमा आजदेखि सुदूरपश्चिम महोत्सव सुरु भएकाे छ । १९ औँ संस्करणको सुदूरपश्चिम महोत्सवको धनगढी उपमहानगरपालिका– १ पशुपति टोल मैदानमा अर्थमन्त्री रामेश्वर खनालले उद्घाटन गरेका हुन् ।

अर्थमन्त्री रामेश्वर खनालले सुदूरपश्चिम प्रदेशको समृद्धिसँग जोडिएका ठूला आयोजना निर्माण तथा सञ्चालनमा वर्तमान सरकार पूर्ण रूपमा सकारात्मक रहेको बताएका छन्। वर्तमान सरकारको मुख्य दायित्व आगामी प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु भए तापनि त्यसका साथै सम्भव भएसम्म विकास निर्माणका काम पनि अघि बढाइने उनले स्पष्ट गरे।

सुदूरपश्चिम प्रदेशको पर्यटन, कृषि, उद्योग, व्यापारको विकास तथा विस्तारको साथै कला, संस्कृतिको प्रवर्धन गर्ने उद्देश्यले कैलाली उधाेग बाणिज्य संघले महोत्सव आयोजना गरेकाे हो । मङ्सिर २२ देखि पुस २ गतेसम्म महोत्सव सञ्चालन हुनेछ । तीन करोडको लगानीमा आयोजना हुने महोत्सवमा १५ करोडको कारोबार हुने संघले जनाएको छ ।

महोत्सवमा कृषि उत्पादन, जडीबुटी, हस्तकला, गार्मेन्ट, इलेकट्रोनिक, होटेललगायतका पाँच सय वटा स्टल रहनेछन् । कृषितर्फ ४० तथा महिला उद्यमी, एकल महिला र स्थानीय परिकारका १५ गरी ५५ वटा स्टल निःशुल्क रहने छन् । महोत्सव अवधिभर सात लाख नागरिकले अवलोकन गर्ने अनुमान गरिएको छ ।

उद्घाटन कार्यक्रममा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुस्करराज ओझाले सुदूरपश्चिमको समग्र विकासमा सरकारको ध्यान जान आवश्यक रहेको बताए । उनले विगतदेखि नै संघले राख्दै आएका केही माग अझै पूरा हुन नसकेको बताउँदै त्यसतर्फ सरकारको ध्यान जानुपर्ने बताए । महाेत्सब उद्घाटनमा सुदूरपश्चिमका विभिन्न कला,संस्कृति झल्किने प्रस्तुतिहरु प्रस्तुत गरिएका थिए । 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.