सबै कम्युनिष्ट एक हुनुपर्ने बेला आयो : भरत सी

धनगढी। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज डबल बहादुर शाह (भरत सी)ले माओवादी एकजुट हुन जरुरी रहेको धारणा राखेका छन् । 

मंगलबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले माओवादी मात्रै नभएर सबै कम्युनिष्ट एक हुनुपर्ने बेला आएको धारणा राखे । उनले भने ‘कम्यनिष्टप्रति जनताको विश्वास छ, समयमै सबै कम्युनिष्ट एक हुन जरुरी छ । एक हुन नसके मोर्चा सम्म बनाउनु पर्ने समय आएको छ ।’ उनले अहिलेको सरकार निरन्तर चल्नु पर्ने समेत बताए ।

उनले भने अहिलेको सरकारलाई अझ बलियो बनाउनुपर्छ, यो कम्युनिष्ट नेतृत्वको सरकार भएकोले यसलाई अझ बलियो बनाउनु पर्छ । सरकारका सकरात्मक काममा आफ्नो पार्टीको सहयोग र समर्थन रहने समेत उनले स्पष्ट पारे । उनले भने. ‘सरकारले चालेका भष्टाचार विरुद्धका काममा हाम्रो सहयोग रहन्छ । राम्रा कामका लागि सधै सहयोग गर्छौ ।’

उनका अनुसार एमसीसी, वैदेशिक हस्तक्षेप, भ्रष्टाचार, विकृति, मिटर व्याज लगायतका विषयमा पार्टीले सङ्घर्ष गर्ने र सीमामा सहायक केन्द्रको स्थापना गर्ने निर्णय गरिएको छ । उनले पाँच बुँदामा समसामयिक प्रस्ताव पास गरेको पनि जानकारी दिए । उनले एक सयको नोटमा चुच्चे नक्सा राख्ने सरकारले गरेकोे निर्णय सकरात्मक भएको प्रतिक्रिया दिए । सीले भने ‘भष्टाचार बढ्दो छ । आर्थिक रुपले देश टाँट पल्टिने अवस्था छ । जनता पलायन हुँदै छन् । यसमा सबै सचेत हुनु पर्ने बेला आएको छ ।’

यस्तै भरत सीले पहलमानपुरको कोड स्टोरदेखी महाकाली कोरिडोर सम्मका विषयमा पार्टीले निर्णय गरेको जानकारी दिए । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानको सञ्चालनको लागि दबाब सृजना गर्ने, महाकाली कोरिडोर, सेती लोक मार्गको लागि पर्याप्त बजेट विनियोजन गर्न लगाउने र छिटो सम्पन्न गर्न माग गर्ने, गरिब, किसान, र सुकुम्वासीलाई वैकल्पिक व्यवस्था विना विस्थापन गर्ने कामको विरोध गर्ने, चिसापानी राजकाडा केबुलकारमा स्थानीय निकाय र जनताको शेयर सुनिश्चितताको पहल गर्ने समसामयिक प्रस्ताव पास गरिएको छ।

कैलालीको गोदावरी हरैयाको जग्गा पार्टीको नाममा रहेको बताउदै पत्रकार सम्मेलनमा उनले आर्थिक संकट र युवा पलायनले देश थप सङ्कटमा गइरहेको भन्दै मुलुकको विकासको लागि नेपाली विशेषताको समाजवादको स्थापना आवश्यकता रहेको जानकारी दिए । उनले सबै कम्युनिस्ट पार्टीहरू एक हुनुको विकल्प नरहेको बताएका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.