धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले नेपालको संविधानले जनताको सर्वोच्चता कायम गर्दै सबै नागरिकका अधिकार सुनिश्चित गरेको बताएका छन्। सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गरेको संविधान दिवसको मूल समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले संविधानले नेपालका सबै जातजाति, भाषा, धर्म र संस्कृति मान्ने नागरिकको अधिकार सुनिश्चित गरेको बताएका हुन्।
नेपालको संविधान लोकतान्त्रिक पद्धतिको विकसित दस्तावेज भएको उल्लेख गर्दै उनले विभिन्न मत र विचारबीच सहमति खोज्ने राजनीतिक आधारका रूपमा संविधानलाई लिनुपर्ने धारणा व्यक्त गरे। मुख्यमन्त्री भट्टले संविधानको मर्म र भावनाअनुसार सबै प्रकारका राजनीतिक सहमति कायम गर्दै मुलुकलाई अग्रगमनको बाटोमा अघि बढाउनु अहिलेको आवश्यकता रहेको बताए।
संविधानले जनताको लामो सङ्घर्ष, त्याग र बलिदानबाट प्राप्त संविधानले लोकतन्त्र, गणतन्त्र, सङ्घीयता, सामाजिक न्याय, समानता र समावेशिताका मूल्यमान्यतालाई संस्थागत गरेको भन्दै उनले संविधानले प्रत्याभूत गरेका अधिकारको संरक्षण र कार्यान्वयन गर्दै लोकतान्त्रिक मूल्य, मान्यता तथा समावेशी व्यवस्थालाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिए।
समारोहमा प्रदेश प्रमुख नजिर मियाँ, सभामुख भीमबहादुर भण्डारी, उपसभामुख कोइलीदेवी चौधरी, प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा सुरक्षा निकायका प्रमुख सहभागी थिए ।