धनगढी। संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ सुदूरपश्चिम प्रदेशमा भव्यताका साथ मनाइदैं छ । प्रदेश सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाउन मुख्यमन्त्री खगराज भट्टकाे संयाेजकत्वमा विभिन्न पदाधिकारी सम्मिलित २३ सदस्यीय मूल समारोह समिति गठन गरेको छ ।
जसअनुसार असोज २ गते प्रदेशको सबै मन्त्रालय, सरकारी निकाय, कार्यालय तथा स्थानीय तहले आ–आफ्नो कार्यालय, सांस्कृतिक तथा सार्वजनिक स्थलमा राष्ट्रिय झण्डा र दिवस केन्द्रित ब्यानर राखी सजावट गर्ने, गाउँ तथा नगरको श्रृङ्गार एवं सरसफाइ गर्ने र साँझ दीपावली गर्ने कार्यक्रम तय गरिएको छ ।
त्यसैगरी असोज ३ गते बिहान ७ बजे आन्तरिक मामिला तथा कानून मन्त्रालयमा मूल समारोह आयोजना गरिने भएको छ । मूल समारोहमा प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख, मन्त्री तथा राज्यमन्त्रीहरू, सचिवहरू, संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सार्वजनिक तथा संघ–संस्थाका प्रतिनिधि लगायत सर्वसाधारणको सहभागिता रहने जनाइएको छ ।
यसअघि मुख्यमन्त्री खगराज भट्टको अध्यक्षतामा बसेको बैठकले संविधान दिवस तथा राष्ट्रिय दिवसलाई सुदूरपश्चिम प्रदेशका सबै जिल्ला, स्थानीय तह तथा जनस्तरसम्म राष्ट्रिय दिवसकोे रूपमा भव्यताका साथ मनाउने निर्णयसमेत बैठकले गरेको छ । बैठकले दिवसलाई उत्सवका रूपमा मनाउँदै संविधानको महत्व, लोकतान्त्रिक गणतन्त्र, राष्ट्रिय एकता र नागरिक सहभागिताको भावना थप सुदृढ गर्नेगरी कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।