धनगढी। सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री ओमविक्रम भाट ‘सरल’ले विगतका कमजोरी केलाएर त्यसलाई सुधार गरेर नयाँ बजेट ल्याउने गरि सरकार अगाडि बढेको बताएका छन् । आइतबार धनगढीमा आयोजित पत्रकार भेटघाटमा बोल्दै मन्त्री भाटले यस्तो बताएका हुन् ।
मन्त्री भाटले बजेट निर्माण प्रकृया द्रुत गतिमा अगाडि बढेको बताउँदै सरकारले छिट्टै ल्याउने बताए । उनले भने ‘बजेटमा समस्या आएर नै प्रदेश याे अवस्थामा रहेको हो । हिजो जुन कारणले बजेट फेल भएको थियो । त्यो अवस्था हामी आउन दिदैनौँ ।’
त्यस्तै, योजना माग गर्नका लागि मन्त्रालय, बजारमा लाइन लाग्ने, एउटै व्यक्तिले धेरै योजनाका सिफरिस ल्याउने गरिएको बताउँदै त्यसको निराकरण र वास्तविक आवश्यकता पहिचानका याेजना तथा नागरिक सुझावकालागि सहजता बनाउन मन्त्रालयले गुगल फर्म मार्फत योजना माग गरेको पनि उनले बताए ।
‘जो वास्तविक पीडित हो, जहाँ योजना आवश्यक छ । उनीहरु यहाँ पुग्न नसक्ने अवस्था पनि छ । तसर्थ यी समस्या समाधानका लागि गुगल फर्मबाट योजना माग गरेका हौँ’ उनले भने ‘अहिले त छोटो समय छ कति गर्न सकिन्छ थाहा छैन् । पछिल्ला वर्षमा यसको प्रयोगले योजना छनोटमा सहज हुन्छ ।’
उनले अर्को प्रशंगमा बोल्दै मन्त्री भाटले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलभित्र कुनै विवाद नरहेको स्पष्ट पारे । उनले भने ‘माननीय ज्यूहरुले सुधारका लागि सुझाव दिनुभएको हाे ।’