धनगढी । मुख्यमन्त्री भएपछि खगराज भट्ट पहिलाे पटक भाेलि बुधवार गृह जिल्ला डडेल्धुरा जाँदै छन् । जिल्ला समन्वय समिति डडेल्धुराले आयोजना गर्न लागेको जिल्ला सभा तथा जिल्लाको वार्षिक समीक्षा कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी हुन मुख्यमन्त्री डडेल्धुरा जान लागेकाे उनकाे सचिवालयले जानकारी दिएकाे छ।
भ्रमण कार्यतालिका अनुसार मुख्यमन्त्री १६ गते साँझ डडेल्धुरा पुगेर बास बस्नेछन्। १७ गते बिहानैदेखि भने उनी जिल्लाका विभिन्न औपचारिक कार्यक्रम तथा छलफलमा व्यस्त रहनेछन्। १७ गते बिहान ७:३० बजे नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखामा आयोजित पत्रकार सम्मेलनमार्फत सञ्चारकर्मीहरूसँग साक्षात्कार कार्यक्रम गर्ने छन्।
त्यसपछि बिहान ८:०० बजे उद्योग वाणिज्य संघसँग जिल्लाको आर्थिक तथा व्यावसायिक अवस्थाबारे अन्तरक्रिया र ९:०० बजे जिल्ला प्रशासन कार्यालयमा जिल्लास्थित सम्पूर्ण कार्यालय प्रमुखहरूसँग सेवा प्रवाह र विकास निर्माणसम्बन्धी समीक्षा तथा निर्देशन बैठक तय गरिएको छ।
यसैगरी, बिहान १०:०० बजे जिल्ला समन्वय समितिको हलमा आयोजना हुने जिल्ला सभा तथा वार्षिक समीक्षा कार्यक्रममा मुख्यमन्त्रीले प्रमुख अतिथिका रूपमा सहभागिता जनाउनेछन्। कार्यक्रमपश्चात् दिउँसो १२:३० बजेदेखि स्थानीय नागरिक, पार्टी कार्यकर्ता तथा शुभेच्छुकहरूसँग खुला भेटघाट गर्ने समय निर्धारण गरिएको छ।
गृहजिल्लाका विभिन्न महत्वपूर्ण कार्यक्रम तथा भेटघाट सम्पन्न गरी मुख्यमन्त्री १७ गते दिउँसो ३:०० बजे प्रदेश राजधानी धनगढी फर्किने कार्यतालिका रहेको मुख्यमन्त्री सचिवालयले बताएको छ।