धनगढी । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन परिवारलाई लालपुर्जा वितरण गर्ने कार्यलाई सरकारले उच्च प्राथमिकताका साथ अभियानका रूपमा अघि बढाएको बताएकी छन्।
शनिबार धनगढीमा भूमि समस्या समाधान समिति कैलालीको बैठकलाई सम्बोधन गर्दै मन्त्री रावलले ६ सय दिनभित्र भूमिहीन परिवारलाई लालपुर्जा वितरण गरिसक्ने सरकारको लक्ष्य रहेको बताइन्। उनले भूमि सम्बन्धी कामलाई प्राथमिकतामा राखेर तीव्र रूपमा अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिइन्।
भूमि समस्या समाधानका लागि सरकारले आवश्यक स्रोतसाधन र जनशक्ति उपलब्ध गराउने बताउँदै मन्त्री रावलले स्थानीय तहसँग प्रभावकारी समन्वय गरेर काम गर्नुपर्नेमा जोड दिइन्। कैलालीमा पनि चाँडै लालपुर्जा वितरण गर्ने तयारी भइरहेको उनले जानकारी दिइन्।
यसैबीच, मन्त्री रावलले सहकारी पीडितको बचत रकम फिर्ता गर्ने प्रक्रिया सुरु भइसकेको बताइन्। उनका अनुसार सरकारले हालसम्म करिब ४ हजार सहकारी बचतकर्ताको रकम फिर्ता गरिसकेको छ। मन्त्री रावल कैलाली र कञ्चनपुर जिल्लाको भ्रमणका लागि शनिबार धनगढी पुगेकी हुन्।