धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले बुधबार विश्वासको मत लिने भएका छन् । नेकपा संसदीय दलका नेता रहेका भट्ट २९ साउनमा एमालको समर्थनमा मुख्यमन्त्री भएका थिए ।
भट्टले मंगलबार नेकपा संसदीय दलको बैठक बोलाएर बुधबार विश्वासको मत लिने निर्णय गरेका हुन् । उनले मंगलबार नै सचिवालयलाई पत्राचार गर्दै विश्वासको मत प्रयोजनका लागि बैठक बोलाइदिन भनेका छन् । मुख्यमन्त्री भट्टले बुधबार दिउँसो १ बजे विश्वासको मत लिने तयारी गरेका छन्। त्यसअघि संसदीय दलको बैठकले निर्णय गरी सांसदहरूलाई ह्विप जारी गर्ने तयारी छ।
शुक्रबार मुख्यमन्त्रीमा नियुक्त भएका भट्टले विश्वासको मत लिएपछि सरकारलाई पूर्णता दिने तयारी गरेका छन्। हाल नेकपा एमालेका तर्फबाट प्रदेश सरकारमा तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त भइसकेका छन्। अब नेकपाको तर्फबाट थप तीन मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्ने तयारी रहेको छ।