धनगढीमा साइकल संस्कृतिकाे विस्तार हुँदै

धनगढी। कुनै समय छोटो दूरीको यात्रा तथा कामकाजका लागि मात्रै प्रयोग हुने साइकल पछिल्लो समय स्वास्थ्य, वातावरण संरक्षण र मनोरञ्जनको माध्यमका रूपमा लोकप्रिय बन्दै गएको छ। शहरमा दैनिक साइकल चलाउनेहरूको संख्या बढ्दै जाँदा धनगढीमा साइकल संस्कृति पनि विस्तार हुँदै गएको देखिन्छ।

साइकल चलाउँदा शारीरिक व्यायामसँगै मानसिक स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पर्ने भएकाले स्वास्थ्यप्रति सचेत नागरिकहरू साइकलतर्फ आकर्षित हुन थालेका छन्। नियमित साइकल चलाउँदा मुटुको स्वास्थ्य सुधार गर्न, तौल व्यवस्थापन गर्न, मांसपेशी बलियो बनाउन तथा शारीरिक सक्रियता बढाउन सहयोग पुग्ने भएकाले यसलाई सहज व्यायामका रूपमा समेत लिइन्छ। त्यस्तै, साइकल वातावरणमैत्री यातायातको साधन भएकाले यसको प्रयोग बढ्दा इन्धनको खपत तथा सवारीसाधनबाट हुने वायु प्रदूषण घटाउन सहयोग पुग्ने साइकलप्रेमीहरूको भनाइ छ।

बढ्दो सवारी चाप र प्रदूषणका बीच छोटो दूरीका यात्रामा साइकलको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने उनीहरूको धारणा छ। यसै क्रममा फारवेष्ट राइडरले आयोजना गरेको ‘ओल्के हेरिटेज’ कार्यक्रममा साइकलप्रेमीहरूको उल्लेखनीय सहभागिता देखिएको छ। कार्यक्रममा विभिन्न उमेर समूहका साइकल चालक सहभागी हुँदै साइकल यात्रामार्फत स्वास्थ्य, वातावरण संरक्षण र स्थानीय संस्कृति तथा सम्पदाप्रति सचेतना फैलाउने सन्देश दिएका थिए। साइकल चलाउँदा पेट्रोल–डिजेलमा हुने खर्च घट्नुका साथै छोटो दूरीको यात्रामा समयको सदुपयोग गर्न सकिने र शहरमा सवारीसाधनको चाप कम गर्न पनि सहयोग पुग्ने साइकलप्रेमीहरू बताउँछन्।

धनगढीमा साइकल संस्कृति विस्तार गर्न सुरक्षित साइकल लेन, साइकल पार्किङ, साइकलमैत्री सडक तथा नियमित साइकलिङ कार्यक्रम आवश्यक रहेको उनीहरूको सुझाव छ। स्थानीय तह, प्रदेश सरकार र निजी क्षेत्रले सहकार्य गरेर साइकलमैत्री पूर्वाधार निर्माण गर्न सके धनगढीलाई ‘साइकल सिटी’ का रूपमा विकास गर्न सकिने उनीहरूको विश्वास छ।

स्वास्थ्यका लागि व्यायाम, वातावरणका लागि संरक्षण र शहरका लागि वैकल्पिक यातायातको माध्यम बनेको साइकलप्रतिको आकर्षण बढ्दै जानुले धनगढीमा नयाँ किसिमको शहरी संस्कृतिको विकास भइरहेको संकेत गरेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.