सुदूरपश्चिमका मुख्यमन्त्री शाह राजीनामा दिने तयारीमा

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाह पदबाट राजीनामा दिने तयारी गरेका छन्। अघिल्लो महिनाको ३१ गते सत्ता गठबन्धनमा रहेको नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा रहेका मुख्यमन्त्री शाहले बिश्वासकाे मत नपाउने देखेपछि राजीनामा दिने तयारी गरेका हुन् ।

‘२८ गतेसम्म उहाँ संवैधानिक रूपमा हुनुहुन्छ। सोही दिन राजीनामा दिने तयारी गर्नुभएको छ,’ उनीनिकट स्रोतले भन्यो। पहिले मुख्यमन्त्री शाहले विश्वासको मत लिने तयारी नगरेका भने होइनन्। तर, विश्वासको मत पाउने सम्भावना नभएपछि राजीनामा दिने तयारी गरेको हाे । मुख्यमन्त्रीको राजीनामालगायतका विषयमा छलफल गर्न आज दिउँसो २ बजे संसदीय दलको बैठक बोलाइएको प्रमुख सचेतक सरस्वती खड्काले बताइन्।

शाह अल्पमतमा परेको २९औँ दिनमा कांग्रेस संसदीय दलको बैठक बोलाएर ३०औँ दिनमा पदबाट राजीनामा दिने तयारी गरेका हुन्। पहिले संसद्लाई सम्बोधन गरेर राजीनामा दिने तयारी गरेका मुख्यमन्त्री शाहले अहिले सोझै प्रदेश प्रमुखलाई राजीनामा दिने विषयमा पनि आन्तरिक छलफल गरिरहेको उनीनिकट स्रोतले बताएको छ।

‘भोलि विश्वासको मत लिने वा राजीनामा दिने अन्तिम समय हो। कार्यव्यवस्था बोलाएर संसद् बोलाउन समय निकै कम हुन सक्छ,’ उनीनिकट स्रोतले भन्यो, ‘पहिले संसदबाट राजीनामा दिने विषयमा कुरा भए पनि अब संसद्मा सम्बोधन गर्ने सम्भावना कम रहेको छ।’

मुख्यमन्त्री शाहले राजीनामा दिएलगत्तै नयाँ सरकार गठनको बाटो खुल्नेछ। पाँचौँ मुख्यमन्त्रीका लागि नेपाली कम्युनिष्ट पार्टी नेकपा संसदीय दलका नेता खगराज भट्टलाई मुख्यमन्त्री बनाउने विषयमा केन्द्रमा नेकपा र एमालेले सहमति जनाइसकेका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.