धनगढी । मुलुकमा सबै भन्दा गरिबी र अभावमा एक नम्बरमा रहेकाे सुदूरपश्चिम बिकास निमार्णमा छुट्टाइएकाे बजेट पनि खर्च गर्न नसक्नेमा पनि एक नम्बर रहेकाे छ । प्रदेश सरकारले चालु आर्थिक वर्षमा विनियोजित बजेटको करिब ३८ प्रतिशत रकम खर्च गर्न नसकेर बर्ष बिताएकाे छ ।
प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार कुल ३३ अर्ब ४३ करोड २५ लाख ३३ हजार ४ सय रुपैयाँ बजेटमध्ये २० अर्ब ८३ करोड ९२ लाख ५१ हजार रुपैयाँ मात्र खर्च भएको हो । कार्यालयका सूचना अधिकारी वलदेव कपाडीका अनुसार प्रदेश सरकारले समग्रमा ६२.३३ प्रतिशत बजेट खर्च गरेको छ । वार्षिक बजेट अन्तर्गत १२ अर्ब ५९ करोड ३२ लाख रुपैयाँ खर्च हुन नसकेको हो । चालूतर्फ ६८.२२ प्रतिशत र पुँजीगततर्फ ५८.३३ प्रतिशत बजेट कार्यान्वयन भएको छ । प्रदेश सरकारको हालसम्मकै कमजोर खर्चमध्ये यो एक हो ।
सरकारले आर्थिक वर्षको अन्तिम महिना असारमा ठुलो रकम खर्च गरेको देखिएको छ । असार महिनामा मात्रै ९ अर्ब ६ करोड ३० लाख रुपैयाँ खर्च भएको हो, जुन कुल वार्षिक खर्चको २७.१३ प्रतिशत हो । पुँजीगत खर्चतर्फ मात्र हेर्दा कुल खर्चको ३०.३३ प्रतिशत असारमै गरिएको तथ्यांकले देखाउँछ । जेठ मसान्तसम्म प्रदेश सरकारको कुल खर्च ११ अर्ब ७७ करोड ६१ लाख रुपैयाँ थियो । त्यतिबेलासम्म पुँजीगत खर्च ५ अर्ब ५५ करोड ५० लाख रुपैयाँ पुगेको थियो ।
पुँजीगततर्फ सरकारले १९ अर्ब ८२ करोड ९६ लाख ८६ हजार रुपैयाँ बजेट विनियोजन गरेकोमा ११ अर्ब ५६ करोड ८२ लाख रुपैयाँ मात्र खर्च भएको छ । चालूतर्फ १३ अर्ब ५९ करोड २८ लाख रुपैयाँ बजेटमध्ये ९ अर्ब २७ करोड २४ लाख रुपैयाँ खर्च भएको छ ।