धनगढी । सुदूरपश्चिम प्रदेशको प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट जनताको आशा–अपेक्षा सम्बोधन गर्ने नभई दलाल, बिचौलिया र कार्यकर्ता पोस्ने किसिमले ल्याइएकोले अस्वीकार गर्ने बताएकाे छ । आज पत्रकार सम्मेलन गर्दै नेकपा संसदीय दलका नेता खगराज भट्टले यस्ताे बताएका हुन् ।
प्रदेश सरकारले ल्याएको बजेट इतिहासकै कमजोर, अपारदर्शी र जनविरोधी रहेको भन्दै उनले बजेटमा सामान्य संशोधन गरेर सुधार गर्ने अवस्था नरहेकोले खारेज गरेर नयाँ बजेट ल्याउनुपर्ने बताए। ‘यो बजेट पुनर्लेखन गर्ने होइन, खारेज गर्नुपर्छ । टालटुल गरेर सुधार गर्ने अवस्था छैन, बजेटमा ठूलो भ्वाङ परेको छ, ’ भट्टले भने ।बजेटलाई ‘दलाल र बिचौलिया केन्द्रित’ भएको उनको आरोप छ ।
उनले बजेट मध्यरातमा ल्याइएको उल्लेख गर्दै यसले प्रदेशवासीलाई निराश बनाएको बताए। ‘इतिहासमै पहिलो पटक यति खराब बजेट आएको छ। अहंकारी ढंगले बजेट ल्याइएको छ। सिंगो सुदूरपश्चिम स्तब्ध र आक्रोशित छ, ’ उनले आरोप लगाए। उनका अनुसार बजेट सुशासन, पारदर्शिता, समानता तथा दिगो विकासका लक्ष्यविपरीत रहेको छ भने कार्यकर्ता र बिचौलियालाई पोस्ने उद्देश्यले तयार गरिएको छ। ‘मुख्यमन्त्री र केही आसेपासेबाहेक कसैको हितमा यो बजेट छैन, ’ उनले भने।
भट्टले बजेट निर्माण प्रक्रियामा समेत प्रश्न उठाउँदै विभिन्न मन्त्रालयमार्फत आउने योजनाहरू मुख्यमन्त्री कार्यालयमा होटल तथा गोप्य स्थानमा ‘सुटकेस बोकेर’ समावेश गरिएको भन्ने गुनासो आएको बताए। उनले एउटै योजना विभिन्न शीर्षकमा दोहोरिएको, मापदण्डविपरीत साना योजना समावेश गरिएको तथा एक मन्त्रालयले कार्यान्वयन गर्नुपर्ने योजना अर्को मन्त्रालयमा राखिएको आरोप लगाए।
उनले संसदमा ३७ अर्ब ६० करोड रुपैयाँको बजेट प्रस्तुत गरिएको भए पनि कागजातमा फरक रकम देखिएको दाबी गरे। साथै, २५ लाख रुपैयाँभन्दा कमका योजना नराख्ने भनिए पनि थुप्रै साना योजना समावेश गरिएको बताए। मुख्यमन्त्रीको निर्वाचन क्षेत्र अन्तरगत एकै वडामा २ करोड ५० लाख रुपैयाँभन्दा बढीका योजना राखिएको दाबी गर्दै उनले बजेट वितरणमा पक्षपात गरिएको आरोप लगाए।
पत्रकार सम्मेलनमा नेकपा संसदीय दलका उपनेता प्रकाश रावलले पनि बजेट उपयुक्त नभएको भन्दै आफूहरूले बजेट प्रस्तुतिकरणको क्रममा बहिष्कार गरेको बताए। उनले सरकारले अपूर्ण बजेट ल्याएर ‘झारो टार्ने’ काम गरेको आरोप लगाए। नेकपाले प्रदेश सभाका सबै सदस्यलाई बजेट असफल बनाउन आग्रह गर्दै यथास्थितिमा बजेट पारित हुन नदिने स्पष्ट गरेको छ।