विवाद बढ्दा मुख्यमन्त्री शाहले बाेलाए संसदीय दलको बैठक

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री एवम् कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले संसदीय दलको बैठक बोलाएका छन् । दलको नेताबाट हटाउनुपर्ने निर्णय गर्दै अविश्वासको प्रस्ताव संसदीय दलको कार्यालयमा दर्ता भएको भोलिपल्ट शाहले दलको बैठक बोलाएका हुन् ।

शाहले बुधबार आज दिउँसो २ बजे बस्ने गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बोलाएका छन् । शाहलाई संसदीय दलको नेताबाट हटाउनुपर्ने निर्णय गर्दै ९ जना सांसदले संसदीय दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । हस्ताक्षर गर्ने मध्येकी डम्मरी महराले पार्टी एकता र सरकारको बजेटका लागि भन्दै हस्ताक्षर फिर्ता लिएको घोषणा गरेकी थिइन् । महरा मुख्यमन्त्रीको पक्षमा उभिएपछि तत्काललाई उनको पद जोगिएको छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक विक्रमसिंह धामीले संसदीय दलको बैठक दिउँसो २ बजे बोलाइएको बताए । ‘एजेन्डा भनिएको छैन । बजेट, योजनाहरूका विषयमा छलफल होला । दलको विवादको विषयमा पनि कुरा उठ्ला,’ उनले भने। 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.