धनगढी । नेपाली कम्युनिस्ट पार्टी नेकपा सुदूरपश्चिम प्रदेश संसदीय दलले आफ्ना दुई प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेको छ । पार्टी र संसदीय दलको विधानविपरीत गतिविधि गरेको आरोप लगाउँदै नेकपा संसदीय दलले प्रदेशसभा सदस्यद्वय घनश्याम चौधरी र रामेश्वर चौधरीलाई स्पष्टीकरण सोधेको हो ।
पूर्वमन्त्रीसमेत रहेका दुवै जना साबिकको नागरिक उन्मुक्ति पार्टीका थिए । गत फागुनमा भएको निर्वाचन अगाडि सो पार्टी नेकपामा समाहित भइसकेको छ । नेकपाको संसदीय दलको बैठकमा नियमित अनुपस्थित भएपछि उनीसँग ४८ घण्टाभित्र आफैँ उपस्थित भई चित्तबुझ्दो लिखित जवाफको मागसहित स्पष्टीकरण सोधिएको छ । दलका नेता खगराज भट्टले स्पष्टीकरणका लागि दुवै प्रदेशसभा सदस्यलाई पत्र पठाएका छन् ।
दुवैलाई पठाइएको स्पष्टीकरणपत्रमा प्रदेशसभा संसदीय दलको समायोजन प्रक्रियामा असहयोग गरेको, औपचारिक बैठकको जानकारी हुँदाहुँदै पनि निरन्तर अनुपस्थित रहने गरेको उल्लेख गरिएको छ । यसै गरी प्रतिनिधिसभा सदस्यको निर्वाचनका क्रममा पार्टी विधानविपरीत पार्टीका आधिकारिक उम्मेदवारको विपक्षमा गतिविधि गरेको तथा विपक्षी दल र उम्मेदवारका पक्षमा प्रचार प्रसारमा संलग्न भएको आरोप लगाइएको छ ।
यी कार्य दलको विधान र अनुशासनविपरीत रहेको निष्कर्षसहित नेकपा संसदीय दलले दुवैलाई चेतावनी दिएको छ ।