इन्धनको मूल्यवृद्धिले विकास निर्माणका योजना प्रभावित

बैतडी । पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्यवृद्धि र आपूर्तिमा देखिएको समस्याका कारण बैतडीसहित सुदूरपश्चिम प्रदेशका विकास निर्माणका काममा असर पर्न थालेको छ । इन्धनको अभाव र बढ्दो लागतका कारण निर्माण व्यवसायीले काम सञ्चालन गर्न कठिनाइ भोग्नु परेको बताएका छन् । मौज्दात इन्धनको प्रयोग गरेर काम अगाडि बढाइए पनि निरन्तर मूल्यवृद्धि र आपूर्ति असहज हुँदा निर्माण कार्य सुस्त बन्न पुगेको हाे ।

लागत धान्न नसक्ने अवस्थामा पुगेपछि धेरैले मजदुर सङ्ख्या घटाउन बाध्य भएको निर्माण व्यवसायी बताउँछन् । सतबाँझ–श्रीभावर सडकखण्ड निर्माणको जिम्मा लिएको इन्द्रधनु निर्माण सेवाका सञ्चालक राजेन्द्रबहादुर चन्दले मूल्यवृद्धिका कारण ठुला योजनासमेत रोक्ने अवस्था सिर्जना भएको बताए । 

सडक डिभिजन कार्यालय पाटन अन्तर्गत बैतडी, बझाङ र दार्चुलाका विभिन्न प्याकेजमा निर्माण भइरहेको भए पनि मूल्यवृद्धिले समग्र प्रगतिमा असर पारेको डिभिजन प्रमुख किरण सुवेदीले जानकारी दिए । मध्यपहाडी राजमार्ग अन्तर्गत खोड्पे–सतबाँझ सडकखण्डमा मर्मत तथा पुनर्निर्माण भइरहेको भए पनि बिटुमिन जस्ता निर्माण सामग्री अभाव हुँदा काम प्रभावित बनेको सडक डिभिजन कार्यालय बैतडीका सूचना अधिकारी इन्जिनियर कपिल पन्तले बताए ।

सुदूरपश्चिमकै गौरवको आयोजनाका रूपमा रहेको महाकाली कोरिडोरमा समेत मूल्यवृद्धिको प्रभाव देखिएको छ । ग्वाल्लेक निर्माण सेवाका सञ्चालक सुरेशबहादुर चन्दले आयोजनाको कार्यसम्पादनमा प्रत्यक्ष असर परेको बताए । उसाेत जिल्लाभर सञ्चालनमा रहेका सानाठूला सबै योजनामा महँगीको प्रभाव परेको पूर्वाधार विकास कार्यालय बैतडीका प्रमुख धीरेन्द्र भट्टले जानकारी दिएका छन् ।

निर्माण व्यवसायीले मूल्यवृद्धि समायोजन नगरेसम्म काम गर्न कठिन हुने भन्दै सरकारसँग लागत समायोजनको माग गरेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.