
बैतडी । तिहार मनाउन भारतबाट घर फर्किँदै गरेका बैतडीका हरिश भण्डारीको बाटोमै मृत्यु भएको छ। बैतडीको पाटन नगरपालिका–६ का ४९ वर्षीय भण्डारी महेन्द्रनगरबाट बैतडीतर्फ आउँदै गरेको बेला सोमबार राति बसभित्रै बेहोस अवस्थामा फेला परेका थिए।
सोमबार राति करिब १२ः३० बजे पाटन बजार पुगेपछि बसभित्रै बेहोस भेटिएका उनलाई तत्काल उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटन लगिएको थियो। त्यहाँ उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल बैतडी रेफर गरिएका भण्डारीलाई मंगलबार बिहान चिकित्सकले मृत घोषणा गरेका हुन्।
रोजगारीका लागि भारतमा रहेका भण्डारी तिहार मनाउन घर फर्किरहेका बेला बाटोमै उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ।
