धनगढी । बालेन शाह नेतृत्वको सरकारमा सुदूरपश्चिमबाट दुई जना मन्त्री बनेका छन्। रास्वपाले कञ्चनपुरकी प्रतिभा रावल र गीता चौधरीलाई मन्त्री बनाएकाे छ।
बालेन सरकारमा प्रतिभा रावललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी दिइएकाे छ भने गीता चौधरीलाई कृषि मन्त्री बनाएकाे हाे। प्रतिभा रावल रास्वपाको सहप्रवक्ताको जिम्मेवारीमा छिन्। उनी समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी थिइन्।
एक दशकभन्दा बढी समय पत्रकारिता गरेर राजनीतिमा लागेकी रावलको घर कञ्चनपुर हो। उनले साउथ एसिया चेक, रिपब्लिका र ग्यालेक्सी टिभी लगायतमा काम गरेकी थिइन्। रावलले रवि लामिछाने गृहमन्त्री हुँदा उनको सचिवालयमा पनि काम गरिन्। रास्वपा गठन भएपछि केही महिनामै केन्द्रीय समिति बिस्तार भएको थियो। त्यही बेलादेखि उनी पनि प्रत्यक्ष रूपमा रास्वपासँग जोडिएकी हुन्।
यस्तै, कञ्चनपुरकी गीता चौधरी कृषिमन्त्री बनाइएकाे छ। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ की ३३ वर्षीय गीता चौधरी अधिवक्ता हुन्।