Dashain Suvakamana

चुनावमा ‘नाेट र भाेट’काे अभिव्यक्ति दिने ‘मनु’ले बाेली फेरे

Ajai

धनगढी । कैलाली क्षेत्र नम्बर ५ बाट चुनाव लडेका नरनारायण शाह ‘मनु’ अहिले आफ्नो एक विवादित अभिव्यक्तिले दोहोरो चेपुवामा परेका छन् । एकातिर उनले आर्थिक लेनदेन गरेको लिस्ट दिएको भनेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रेम आलेले उनलाई चुनौती दिइरहेका छन् भने अर्कोतर्फ कांग्रेसको प्रदेश महामन्त्री समेत रहेका उनलाई आफ्नै पार्टीले कठघरामा उभ्याएको छ ।

आइतबार सार्वजनिक भएको मनुको विवादित अभिव्यक्तिमा उनले कांग्रेसका जिम्मेवार पदमा रहेका ५७ जनाले पैसा खाएको लिस्ट आफूसँग रहेको बताएका थिए । ‘एउटा गजबको कुरा के छ भने जो चुनाव पराजित हुनु भएको थियो, तेस्रो स्थानमा आउनु भएको थियो, उहाँले आएर मलाई एउटा लिस्ट नै दिनुभयो’ मनुले उक्त विवादित बनेको अभिव्यक्तिमा भनेका छन् ‘तपाईँप्रति मेरो सद्भाव छ, सुवेक्षा सधैँ रहिरहने छ । तपाइका यी यी मान्छेले म सँग चाहिँ थोराभैत आर्थिक सहयोग लिएका हुन । तपाई आइन्दा यी मान्छेबाट सतर्क रहनुहोला । त्यसमा गजबको कुरा के छ भने ५७ जना मान्छेहरू जुन जिम्मेवार पदहरूमा रहेका छन् ।’

उनको अभिव्यक्तिपछि कांग्रेसले स्पष्ट पार्न प्रेस विज्ञप्ति नै जारी गरेको थियाे । नेपाली कांग्रेसका ५७ जना नेता कार्यकर्ताले आर्थिक लेनदेन गरी मत बदलेको कुरा स्पष्ट पारी जिम्मेवारी निर्वाह गर्न जिल्ला सभापति नारायण दत्त भट्टद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएकाे छ । उता नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार प्रेम आलेले उनलाई आफूले लिस्ट दिएको पुष्टि गर्न चुनौती दिँदै उनको विवादित अभिव्यक्तिको भत्र्सना गरेका छन् । 

‘यस प्रकारका आधारहीन आरोप मार्फत मेरो राजनीतिक छवि धुमिल पार्न खोजिएको कार्यप्रति म कडा शब्दमा भत्र्सना गर्दछु’ उनको विज्ञप्तिमा भनिएको छ ‘यी अभिव्यक्तिलाई जिम्मेवार पार्टीको उम्मेदवारले दिएको गैह्र–जिम्मेवार अभिव्यक्तिप्रति खुला चुनौती दिन चाहन्छु—यदि मैले कुनै व्यक्तिलाई पैसा दिएको नामावली उपलब्ध गराएको प्रमाण छ भने तत्काल सार्वजनिक गर्न चुनौती दिन्छु । अन्यथा, यस्ता झुटा आरोप फैलाउनेहरूमाथि म कानुनी उपचारको बाटो अपनाउन बाध्य हुनेछु । सत्य –तथ्य बाहिर ल्याउन र जनतामा भ्रम नफैलाउन सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछु ।’

चुनावमा नाेटकाे लेनदेन र भाेट अन्तै दिएकाे अभिव्यक्ति दिएर दोहोरो चेपुवामा परेका ‘मनु’ले बाेली फेरेका छन् । सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया सार्वजनिक गर्दै मनुले भने आलेले विवरण पठाइदिन्छु भनेको दावी गरेका छन । यसअघि लिस्ट दिएको बताएका उनले आलेले पैसा लिएको विवरण पठाइदिन्छु भन्दा आफूले आवश्यक नरहेको भनेको प्रतिक्रिया दिएका छन ।

उनले लेखेका छन ‘कुरैकुरामा यहाले मलाई तपाईका पार्टीका केही नेताहरुले मलाई सहयोग गरेका थिए र केहिले त आर्थिक सहयोग समेत पनि प्राप्त गरेको कुरा सुनाउनुको साथै मलाई आफ्नो मोबाईलमा रहेको च्याट हिस्ट्री समेत देखाएको यहालाई पुनः स्मरण गराउन चाहन्छु । तर यहाँले मलाई त्यसको विवरण पठाइदिन्छु भन्दा मैले अहिले आवश्यक नरहेको भनेकै पनि थिए । त्यसैकारणले मसँग त्यस्तो कुनै ठोस प्रमाण छैन पनि ।

तर सत्य कुरा बोल्नुपर्दा मैले यहाँ निर केही अप्रिय कुरा भन्नु परेकै हो । यहाँ मैले कुनै खराब नियतले तपाईंको बदनामी गर्न अथवा चरीत्र हत्या गर्न खोजेको होइन अथवा भ्रम छरेर समाज भाड्ने प्रयास पनि गरेको होइन ।’ कैलाली क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका थिए भने कांग्रेस दोस्रो र नेकपा तेस्रो भएको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.