धनगढी । लामाे समयदेखि सम्पर्कमा नरहेकाे भन्दै सुदूरपश्चिम प्रदेश संसद् सचिवालयले पूर्वमन्त्री प्रकाशबहादुर देउवाकाे तलव सुविधा राेकेकाे छ । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को प्रदेशसभा (२) मा नेपाली कांग्रेसबाट निर्वाचित पूर्वमन्त्री प्रकाश देउवा जेन्जी आन्दोलनपछि प्रदेश सभामा उपस्थित भएका छैनन् ।
उनीनिकट स्रोतका अनुसार जेन्जी आन्दोलनपछि अमेरिका गएका उनी अहिलेसम्म आएका छैनन् । मुख्यमन्त्री, मन्त्री र राज्यमन्त्रीबाहेक सभामुख उपसभामुख र सांसदहरूको ‘प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७५’ अनुसार पारिश्रमिक र सेवासुविधा संसद् सचिवालयले उनीहरूको खातामा हाल्ने गरेकाे भएपनि पूर्वमन्त्री प्रकाश देउवाकाे भने फागुन महिनाकाे राेकेकाे हाे ।
‘उहाँको अनुपस्थितिलाई लिएर केही समय अघिबाटै प्रश्न उठिरहेको छ । लगातार १० बैठकसम्म उपस्थित हुनुभएन भने पद नै जान्छ उपस्थित हुनुभए एकैपटक सेवा सुविधा पठाउन मिल्छ ’ सचिवालय स्रोतले भन्यो, ‘अब उहाँ नआउँदासम्म वा उहाँको बारे कुनै जानकारी नआउँदासम्म हामी पारिश्रमिक र सेवा सुविधा हाल्दैनौँ ।’
जेठ ११ गतेदेखि सुरु प्रदेशसभाको छैटौँ अधिवेशनमा २५ वटा बैठक बसे । तीमध्ये उनी ८ दिन मात्रै उपस्थित भएका छन् । अमेरिकामा रहेको भनिएका देउवाबारे सुदूरपश्चिम प्रदेशका सभामुख भीम भण्डारीलाई पनि कुनै जानकारी छैन । ‘केही समयदेखि उहाँ सदनमा उपस्थित हुनुभएको छैन, अनुपस्थितिको कारणबारे पनि कुनै सूचना छैन,’ सभामुख भण्डारीले भने, ‘किन सदनमा उपस्थित नहुनुभएको हो भन्नेबारे हामीलाई कुनै जानकारी छैन ।’
प्रदेशसभालाई सूचना नदिई लगातार दशवटा बैठकमा अनुपस्थित रहेमा प्रदेशसभा सदस्यको स्थान रिक्त हुने व्यवस्था संविधानको १८० मा उल्लेख गरिएको छ । सुदूरपश्चिम प्रदेश सभा नियमावली २०८० को धारा १९३ मा यो व्यवस्था उल्लेख गरिएको छ । जेन्जी आन्दोलनपछि अहिलेसम्म पनि बैठकमा उपस्थित भएका छैनन् । कहिले आउँछन् वा कहाँ छन् भन्ने बारे पनि प्रदेश सभा सचिवालय वा सभामुखलाई कुनै आधिकारिक जानकारी छैन ।
केही समयअघि देउवाले मुख्यमन्त्री बन्ने गृहकार्य थालेका थिए । रामेश्वर चौधरीलाई मुख्यमन्त्री कलम शाहले बर्खास्त गरेपछि तत्कालीन नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरीले देउवालाई मुख्यमन्त्री बनाउने गरी पहल सुरु गरे । त्यसमा केही विपक्षी सांसदहरू पनि जुटेका थिए । अन्तिम अवस्थामा शेरबहादुर देउवा र आरजु राणाबाटै प्रकाश देउवाले ग्रिन सिग्नल पाएनन् । पार्टी सभापति रहेकै बेला ठूलोबुबाबाट मुख्यमन्त्री बन्न रोकिएपछि उनी रुष्ट बनेको कांग्रेस स्रोतको दाबी छ ।
भदौ २३ र २४ मा भएको जेन्जी आन्दोलनलगत्तै उनी अमेरिका प्रस्थान गरेका थिए । देउवाकी श्रीमती र सन्तान पनि अमेरिकामै छन् ।