‘आफ्नै मौलिक सम्भावनाको पहिचान र प्रवर्द्धन गराैं’ बालेन

धनगढी । बालेन्द्र शाहले नेपालीहरू “माल भएको तर चाल नभएको” जस्तो अवस्थामा पुगेको टिप्पणी गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता शाहले बुधबार धनगढीमा आयोजित उद्घोष सभालाई सम्बोधन गर्दै नेपालमा अपार सम्भावना हुँदाहुँदै त्यसलाई व्यवहारमा उतार्न नसकिएको बताए।

नाराभन्दा आफ्नै मौलिक सम्भावनाको पहिचान र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए। “हामीसँग थुप्रै सम्भावना भएका ठाउँ छन्,” उनले भने, “स्विजरल्याण्डको बाउ बडिमालिका छ, स्विजरल्याण्डको पराकाष्ठा रामारोशन छ, खप्तड छ। यिनीहरूलाई व्यवस्थित बनायौं भने स्विजरल्याण्डभन्दा राम्रो देश बन्छ, अनि किन स्विजरल्याण्ड बनाउनु पर्छ?” 

शाहले बडिमालिका, रामारोशन र खप्तड जस्ता प्राकृतिक तथा धार्मिक–पर्यटकीय गन्तव्यहरूको संरक्षण, पूर्वाधार विकास र प्रभावकारी व्यवस्थापनमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउन सकिने धारणा राखे।उनले समस्या स्रोतको अभाव नभई कार्यशैली र व्यवस्थापनमा कमजोरी रहेको दाबी गरे। “सम्भावना हाम्रो देशमै छ, तर त्यसलाई परिणाममा बदल्ने चाल चाहियो,” उनले भने, “नारा होइन, कामको संस्कृति विकास गर्नुपर्छ।”

कार्यक्रममा उपस्थित समर्थकहरूलाई सम्बोधन गर्दै शाहले युवालाई अवसर, पारदर्शी शासन र स्थानीय स्रोत–साधनको सदुपयोगमार्फत देशलाई आत्मनिर्भर बनाउने दिशामा अघि बढ्न आग्रह गरे। उनले सुदूरपश्चिमको पर्यटन, कृषि र प्राकृतिक स्रोतको वैज्ञानिक उपयोगले रोजगारी सिर्जना र आर्थिक समृद्धिमा ठोस योगदान दिन सक्ने उल्लेख गरे।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.