धनगढी । काठमाण्डाैं माहानगरकाे मेयरबाट राजिनामा दिएर चुनावमा हाेमिएका बालेन्द्र शाह (बालेन) को सुदूरपश्चिम भ्रमणले धनगढीमा नयाँ राजनीतिक तरङ्ग पैदा गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेतासमेत रहेका उनी आगामी निर्वाचनका लागि झापा–५ का उम्मेदवार हुन् ।
चुनावी प्रचारप्रसारका क्रममा मंगलबार धनगढी आइपुगेका उनलाई स्वागत गर्न यति ठूलो जनसागर उर्लियो कि उनी आफ्नै पार्टीको सम्पर्क कार्यालयभित्र समेत छिर्न सकेनन्। कैलाली क्षेत्र नम्बर ५ को चुनाव लक्षित धनगढीको सम्पर्क कार्यालयमा बालेनलाई भेट्न उम्मेदवार आनन्द बहादुर चन्दलगायतका नेताहरू भित्रै पर्खिरहेका थिए। तर, कार्यालय बाहिर समर्थकहरूको अत्याधिक भीड र ‘बालेन सरकार’ को पक्षमा लागेको नाराबाजीका कारण उनी भित्र पस्ने अवस्था नै बनेन।
भीड नियन्त्रणबाहिर जान थालेपछि उनी बाहिरबाटै समर्थकहरूलाई हात हल्लाउँदै र घण्टी बजाउँदै कञ्चनपुरतर्फ लागेका छन्। जेहाेस् सुदूरपश्चिममा बालेनप्रतिकाे याे क्रेजले रास्वपाका उम्मेदवार पार्टी कार्यकर्तामा उत्साह थपिएकाे छ ।
