बैतडी । बैतडीमा नेकपा एमालेको ११ औं महाधिवेशनका लागि प्रतिनिधि छनोटप्रति असन्तुष्टि जनाउँदै पञ्चेश्वर गाउँपालिकाका अध्यक्षले राजीनामा घोषणा गरेका छन् । सर्वसम्मत प्रतिनिधि चयनको नाममा गुटगत चलखेल भएको आरोप लगाउँदै जननिर्बाचित पालिका अध्यक्ष गोरखबहादुर चन्दले पार्टी परित्यागको घोषणा गरेका हुन् ।
एमाले प्रदेश सल्लाहकार समिति सदस्य रहेका चन्दले आइतबार सामाजिक सञ्जाल फेसबुकमा पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । उनी २०७४ र २०७९ सालमा एमालेबाटै पञ्चेश्वर गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । तर, प्रतिनिधि चयनमा असन्तुष्ट चन्दले पार्टी जिम्मेवारी जिल्ला इन्चार्ज लिलाधर भट्ट र पालिकाको जिम्मेवारी उपाध्यक्ष बिना भट्ट र वडाध्यक्ष रामसिंह पुजारालाई हस्तान्तरण गर्दै एमाले परित्याग गरेको उल्लेख गरेका छन् ।

चन्दले यसपटक आफूलाई महाधिवेशन प्रतिनिधि बन्नै नदिएको आरोप लगाएका छन् । उनले लिलाधर भट्ट र पूर्वमन्त्री दामोदर भण्डारीले प्रतिनिधि बन्न रोकेको दाबी गर्दै ‘पार्टीभित्रको चरम गुटबन्दी, चाकरी र झोले प्रथाले धेरै दिक्क बनाएको थियो,’ चन्दले भनेका छन्, ‘निरंकुश नेतृत्वविरुद्ध समय–समयमा आवाज उठाएँ, तर अन्ततः सकिन ।’ भनेका छन् ।
एमाले बैतडीले शनिबार नै १५ जना राष्ट्रिय महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन गरिसकेको छ । जसअन्तरगत खुल्ला कलस्टरमा सुरेन्द्रबहादुर पाल, चक्रबहादुर कार्की, नरेन्द्र बिष्ट, पुष्करराज जोशी, लोकेन्द्र भण्डारी र रामसिंह पुजारालाई छनौट गरिएको छ भने महिला कलस्टरमा धाना धामी, शकुन्तला साउँद, पार्वती कार्की र सरस्वती कोलीलाई छनौट गरिएको छन् ।
यसैगरी दलित कलस्टरमा नरेशकुमार विश्वकर्मा, सरस्वती नेपाली, बलभद्र दयाल र कालुराम सार्की, युवा कलस्टरबाट गोविन्द गिरीलाई प्रतिनिधि छनौट गरिएको छ ।
