सुदूरपश्चिममा निर्वाचन लक्षित सुरक्षा व्यवस्थाबारे छलफल

धनगढी । सुदूरपश्चिम प्रदेश सुरक्षा समितिको बैठकले आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि नागरिकमा सुरक्षाको प्रत्याभूत हुनेगरी सुरक्षा व्यवस्था मिलाउने निर्णय गरेको छ। बैठकले एकीकृत सुरक्षा रणनीति तयार गरी आम नागरिकमा सुरक्षाको प्रत्याभूत हुनेगरी आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको हो।

मुख्यमन्त्री कमलबहादुर शाहको निवासमा आइतवार बसेको बैठकले दीपावली तथा छठ पर्वको समयमा सुदूरपश्चिमबाट भारत जाने नाकाहरुबाट आवागमन गर्ने नागरिकको आवागमनलाई सहज बनाउन र नाकामा हुनसक्ने अपराधिक गतिविधिलाई नियन्त्रण गर्न सुरक्षा निकायले एकीकृत जाँचको व्यवस्था मिलाउने, लागूऔषधको बिक्री–वितरण ओसारपसारका गतिविधिहरु नियन्त्रण र नियमन गर्न सरोकारवालाहरुले संयुक्त रणनीति तयार गरी कार्यान्वयन गर्न निर्देशन दिने निर्णय गरेको छ।

यस्तै चाडपर्वका समयमा बजारमा हुनसक्ने मूल्य वृद्धि, आखाद्य वस्तुको मिसावट जस्ता अस्वाभाविक गतिविधिको नियमन गरी नियन्त्रण गर्नका लागि सम्बन्धित निकायलाई निर्देशन दिने, सार्वजनिक सेवा प्रवाहलाई सरल सहज र जनआकाङ्क्षाअनुरुप बनाउन तथा सुशासन कायम गर्नका लागि सबै सार्वजनिक निकायले सेवाको सबलीकरण एवं संस्थागत सुदृढीकरण गर्न निर्देशन दिने निर्णय पनि गरिएको छ।

बैठकमा मुख्यमन्त्री शाह, प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हीरा सार्की, चारवटै सुरक्षा निकायका प्रदेशस्तरीय प्रमुखहरु, कैलाली र कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीलगायत उपस्थिति थियो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.