धनगढी । सुदूरपश्चिम प्रदेशको बझाङमा निर्माण हुने २१६ मेगावाट क्षमताको बझाङ माथिल्लो सेती जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ। बझाङको साइपाल गाउँपालिका वडा नम्बर ४ र ५ मा निर्माण हुने उक्त आयोजनाको लागि शुक्रबार कुमारी बैंकको नेतृत्व तथा एनएमबी बैंकको सह-नेतृत्वमा वित्तीय व्यवस्थापन भएको हो।
हाइड्रो–इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी, माछापुच्छ्रे बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, प्रभु बैंक, नेपाल एसबिआई बैंक, एनआइसी एसिया बैंकले सहवित्तीय व्यवस्थापन गर्नेछन्। त्यसैगरी, कृषि विकास बैंक, लुम्बिनी विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, कामना सेवा विकास बैंक र आइसिएफसी फाइनान्स सहितको सहवित्तीय व्यवस्थापन औपचारिक रूपमा भएको हो ।
काठमाडौंमा आयोजित एक समारोहबीच कुमारी बैंक र आयोजना प्रवर्द्धक कम्पनी समृद्धि इनर्जी लिमिटेडबीच वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौतामा कुमारी बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल र प्रवर्द्धक कम्पनी समृद्धि इनर्जी लिमिटेडको तर्फबाट अध्यक्ष शैलेन्द्र गुरागाईंले हस्ताक्षर गरे।
४१ अर्ब ६० करोड लागतमा निर्माण हुन लागेको बझाङ माथिल्लो सेती जलविद्युत आयोजनालाई ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजीको अनुपातमा अघि बढाइनेछ। नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पिपिए) २०८० साल साउन १९ गते भएको थियो। २०८१ वैशाख ३१ गते विद्युत उत्पादन अनुमति पाएको हो। आयोजना पाँच वर्षभित्र बनाइसक्ने र २०८८ असार ३१ गतेभित्र व्यावसायिक उत्पादन सुरू गर्ने लक्ष्य छ।
आयोजनाबाट वार्षिक एक हजार २२९.६ गिगावाट घण्टा विद्युत उत्पादन हुने अनुमान छ। वर्षा याममा ८३४.४९ गिगावाट आवर र सुख्खा याममा ३९५.११ गिगावाट आवर बिजुली उत्पादन हुनेछ।