
अत्तरिया । सुदूरपश्चिम प्रदेशको राजधानी सार्ने सम्भावनाको चर्चा चुलिँदै जाँदा गोदावरी नगरपालिकाले राजधानी जोगाउन सर्वदलीय मोर्चा खडा गर्ने भएकाे छ। गोदावरी नगरपालिकाको पहलमा बुधबार आयोजित सर्वदलीय बैठकमा सहभागी राजनीतिक दलका नेताहरूले राजधानी सार्ने कुनै पनि प्रयास स्वीकार्य नहुने भन्दै तोकिएको स्थायी राजधानी कार्यान्वयन गर्न दबाबस्वरुप आन्दोलन आवश्यक भएको बताएका छन्।
नगरप्रमुख वीरेन्द्र भट्टको अध्यक्षतामा सम्पन्न बैठकमा सुदूरपश्चिम प्रदेश सरकारका राज्यमन्त्री प्रकाश बम, प्रदेशसभा सदस्य तुलसी देवकोटा, खिमादेवी बिष्ट, जानकी कुँवर, पूर्वमन्त्री कृष्णराज सुवेदी, एमालेका गोकर्ण भट्ट र खम्ब बुढा, कांग्रेसका वसन्त रोकाया र बीरबहादुर चोखाल, माओवादी केन्द्रका धर्म कुँवर र मेघराज भट्ट, जनमोर्चाका नन्दराज भट्टसहित विभिन्न दल, स्थानीय निकाय, नागरिक समाज, उद्योगी–व्यवसायी तथा बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो।
बैठकमा बोल्ने अधिकांश वक्ताहरूले २०७५ साल असोज १२ गते दुई तिहाइ बहुमतले पारित भएर गोदावरी–२ र ४ मा स्थायी राजधानी घोषणा गरिएको निर्णय संविधानसम्मत र जनभावनानुकूल रहेको भन्दै त्यसको कार्यान्वयनमा भएको ढिलाइप्रति असन्तुष्टि व्यक्त गरे। उनीहरूले कार्यान्वयनमा प्रदेश सरकार र संघीय सांसदहरूको भूमिका कमजोर रहेको भन्दै आलोचना समेत गरे।
बैठकको अध्यक्षता गरेका मेयर भट्टले गोदावरीलाई सुदूरपश्चिमको राजधानीका रूपमा कार्यान्वयन गर्न अब ढिलाइ भए सह्य नहुने बताए। सर्वदलीय बैठकले राजधानी सार्ने जुनसुकै प्रयासको विरोध गर्दै, सात वर्षअघि गरिएका निर्णयहरूको सम्मान गर्न सरकार र सांसदहरूलाई सचेत गराएको छ। यो निर्णय कार्यान्वयनका लागि अब गोदावरी नगरस्तरमा मात्र होइन, प्रदेशव्यापी जनदबाब सृजना गर्ने बताइएकाे छ।
