धनगढी । अनुदान खान जिउँदो व्यक्तिलाई मृत घोषणा गर्ने दुई जना पक्राउ परेका छन् । दार्चुलाको शैल्यशिखर नगरपालिकाका मेयरका छोरा र कृषि शाखा प्रमुख पक्राउ परेका हुन् ।
शैल्यशिखर नगरपालिका मेयर विजयसिंह धामीका छोरा २८ वर्षका जनकसिंह धामी र सोही नगरपालिकाका कृषि शाखाका प्रमुख २४ वर्षीय दीपकराज विष्ट पक्राउ परेका हुन् । उनीहरुले मालिकार्जुन कृषक अगुवा समूहका सचिव र कोषाध्यक्षको मृत्यु भएको नक्कली प्रमाणपत्र बनाएका थिए । उक्त समूहलाई स्थानीयस्तरमा ओखर विकास कार्यक्रमअन्तर्गत दुई लाख २० हजार रुपैयाँ अनुदान उपलब्ध गराउने सम्झौता गरेको थियो ।
उक्त रकम निकाल्न सचिव जानकी धामी र कोषाध्यक्ष मञ्जु धामीको मृत्यु भएको भन्दै अन्य व्यक्तिको नाममा खाता सञ्चालनका लागि बैंकलाई पत्र काटिएको थियो । जिल्ला प्रहरी कार्यालय दार्चुलाका डीएसपी प्रकाश दाहालका अनुसार घटनाबारे असार २५ गते प्रारम्भिक जानकारी आएपछि सूक्ष्म अनुसन्धान गरिएको थियो । अनुसन्धानबाट कीर्त्ते पुष्टि भएपछि दुवै जनालाई साउन ७ गते पक्राउ गरिएको हो ।
प्रहरीले उनीहरूमाथि लिखत सरकारी कागजात कीर्त्ते र विश्वासघातको आरोपमा मुद्दा दर्ता गरेको छ ।