धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८२ को १० महिनाको खर्च ३३.२० प्रतिशत मात्रै देखिएको छ। चालुतर्फ ४३.८८ प्रतिशत र पुँजीगततर्फ २५.९५ भएको छ। यसको औसत ३३.२० प्रतिशत हुन्छ।
प्रदेश सरकारले ३१ अर्ब ५३ करोड ६६ लाख रुपियाँका विभिन्न याेजनामा बजेट विनियोजन गरेकोमा वैशाख मसान्तसम्म १० खर्ब ४७ करोड चार लाख रुपियाँ खर्च गरेकाे छ । जुन अन्य प्रदेशकाे तुलनामा निक्कै कम हाे । बजेट कार्यान्वयनमा सुदूरपश्चिम जस्तै मधेश प्रदेशकाे अवस्था पनि दयनीय छ ।
सुदूरपश्चिममा गत आवमा पनि ६४ प्रतिशत मात्रै बजेट खर्च भएको थियो। यस वर्ष साउनमा मात्रै नयाँ सरकार बनेको र बजेट ल्याउन दुई महिना ढिलो भएको थियो। मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव यज्ञ पुरीले पनि दरबन्दी अनुसारको जनशक्ति नभएका कारण चालु खर्च र जनशक्ति अभावका कारण भुक्तानीमा ढिलाइ भएकाले खर्च प्रगति कम देखिएको बताए।