कञ्चनपुर । कञ्चनपुरमा तरकारीमा खानै नहुने मात्रामा विषादीको अवशेष पाइएकाे छ । विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ कार्यालय अत्तरिया, कैलालीको टोलीले तरकारीको नमूना सङ्कलन गरी प्रयोगशालामा जाँच गर्दा तरकारीमा उपभोग गर्न नहुने मात्रामा विषादी फेला पारेको हाे।
एकाइ कार्यालयका नायब प्राविधिक सहायक राजेन्द्रप्रसाद भट्टका अनुसार आज शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा सञ्चालनमा रहेका छवटा पसलबाट सङ्कलन गरिएका १० वटा तरकारीका नमूनामध्ये तीतेकरेलामा उपभोग गर्नै नहुने मात्रामा विषादीको अवशेष पाइएको छ । करेलाको नमूना परीक्षण गर्दा कार्वामेट १४ दशमलव ८५७ र अर्गानोफस्फेट ६० दशमलव ५९९ प्रतिशत रहेको पाइएको छ ।
झलारी बजारमा रहेका छवटा पसलमा एकाइ कार्यालयको टोलीले अनुगमन गरी काँक्रो, लौका, रायो, भिन्डी, आलु, करेला, बोडी, गोलभेँडालगायतका गरी १० वटा नमूना प्रयोगशालामा जाँचका लागि सङ्कलन गरी परीक्षण गरेको छ । सङ्कलित नमूनामा रायोको नमूनामा ३३ दशमलव ९४८ अर्गानोफस्टेट रहेको पाइएको छ ।
अन्य तरकारीका सङ्कलित नमूनामा किटनाशकको अवशेष शून्य दशमलव १५० देखि २७ दशमलव ९२७ रहेको पाइएको छ । विषादीको मात्रा अत्यधिक भेटिएको तरकारी पसलबाट जफत गरी नष्ट गरिएको छ । विषादीको प्रयोग गरी करेला बिक्री गर्न ल्याउने किसानलाई पहिलोपटकका लागि सचेत गर्ने कार्य गरिएको शुक्लाफाँटा नगरपालिकाको कृषि शाखाका कर्मचारीले बताए ।
दुई साताअघिमात्र महेन्द्रनगरको सब्जीमण्डीमा बिक्रीका लागि राखिएको काँक्राको नमूना प्रयोगशालामा परीक्षण गर्दा खानै नहुने मात्रामा विषादी फेलापरेको थियो । चालु आवको हालसम्म प्रयोगशालाले सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाबाट दुई हजार एक सय ६७ किटनाशक विषादी परीक्षणका लागि नमूना सङ्कलन गरेको छ ।