सुदूरपश्चिममा प्रतिपक्षले बजेट अधिवेशन चल्न नदिने

धनगढी । जन सवाललाई सम्बाेधन गराउन दवावस्वरुप सुदूरपश्चिम प्रदेश सभामा विरोध जनाएको प्रतिपक्षी दलले यथास्थितिमा सभाको छैटौं अर्थात् बजेट अधिवेशन चल्न नदिने अडान लिएका छन्। प्रतिपक्षीले उठाएको विषयलाई सरकारले सम्बोधन नगरेको भन्दै प्रतिपक्षीले यथास्थितिमा बजेट अधिवेशन चल्न नदिने बताएका हुन।

प्रतिपक्षीको अडान यथावत रहेकाले सुदूरपश्चिम प्रदेश सभाको छैटौँ अधिवेशन अन्योल बनेको छ। सदनमा अवरोध गर्दै आएको प्रतिपक्ष र सरकारबिच अहिलेसम्म कुनै पनि सहमति नभएकाले प्रदेश सभाको अघिल्लो अधिवेशन अन्योल बनेको हो। प्रतिपक्षको अवरोधका बिच गत चैत २५ गते प्रदेश सभाको पाँचौं अधिवेशन अन्त्य गरिएको थियो। प्रतिपक्षी दलले सदनमा विरोध जनाउँदै बैठक चल्न नदिएपछि सरकारको सिफारिसमा सूचना प्रकाशित गरेर अधिवेशन अन्त्य गरिएको थियो।

सरकार छलफलबाटै भागेर रातारात प्रदेश सभाको पाँचौं अधिवेशन अन्त्य गरेको प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का प्रदेश सभा सदस्य ओमविक्रम भाट (सरल) को आरोप छ।“मन्त्रीको अडियो काण्डका कारण सरकारको नैतिकतामाथि नै ठुलो प्रश्न खडा भएको छ”, उनले भने,“हामीले उठाएको विषय सम्बोधन नभएसम्म यथास्थितिमै सदन चल्दैन।हाम्रो विरोध यथावत छ ।” 

विवादित अडियो काण्डमा मन्त्री चौधरीलाई राजीनामा दिन लगाएर घटनाको वास्तविकता ढाकछोप गर्न खोजिएको प्रतिपक्षको जिकिर छ।अडियो काण्डमा सत्ता घटकका नेतासमेत जोडिएको विषय गम्भीर रहेको भाटले बताए। उनले संसद् सार्वभौम संस्था रहेकाले संसदीय समिति बनाएर छानबिन गर्नुपर्नेमा जोड दिए।“अरु निकायले पनि छानविन गरिरहेका होलान तर, संसदीय समितिले गरेको छानविन अझ विश्वसनीय हुने छ”, भाटले भने।

बजेटको बेला आएकाले चाँडै नै सदन सञ्चालन गर्नुपर्ने नैतिक दबाबमा प्रदेश सरकार छ। तर, यथास्थितिमा कुनै हालतमा सदन चल्न नदिने प्रतिपक्षको अडान कायमै रहेको छ। प्रतिपक्षी दलले प्रदेश सरकारले फजुल खर्च घटाउनु पर्ने, सुशासन कायम गर्नुपर्ने लगायतका माग राखेका थिए।

यसैगरी, तत्कालीन उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीको लेनदेन विषय जोडिएको विवादित अडियो काण्डको उच्च स्तरीय संसदीय छानबिन समिति गठन गरेर छानबिन गर्नु पर्ने माग राखिएको थियाे ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.