‘जनतासँग माओवादी : तराई-मधेस जागरण अभियान’ सम्पन्न

कञ्चनपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘जनतासँग माओवादी : तराई-मधेस जागरण अभियान’ ले पार्टीलाई जनतासँग प्रत्यक्ष जोड्न सहयोग पुग्नुका साथै समसामयिक राष्ट्रिय मुद्दाहरूमा जनस्तरको धारणा बुझ्न समेत महत्त्वपूर्ण योगदान पुर्‍याएको बताए ।

उनले अभियान अन्तर्गत करिब एक करोड नागरिकसँग प्रत्यक्ष संवाद गरिएको दाबी समेत गरे । कञ्चनपुरको महेन्द्रनगरमा बुधबार आयोजित समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले हुलाकी राजमार्ग केन्द्रित उक्त अभियानबाट पार्टी र जनताबीचको सम्बन्धलाई अझ सशक्त बनाएको उल्लेख गरे । उनले देशको स्वाधीनता, अखण्डता तथा सीमा सुरक्षाका सवालमा समेत अभियान प्रभावकारी भएको बताए ।

हुलाकी सडकखण्ड हुँदै गरिएको अभियानले सीमावर्ती क्षेत्रका समस्या, सीमान्तीकृत समुदाय, शहीद तथा बेपत्ता परिवार, किसान, विपन्न वर्गदेखि उद्योगी-व्यवसायीका पीडा बुझ्ने अवसर दिएको प्रचण्डले सुनाएका थिए । यी सन्देशलाई पार्टीको भावी योजनामा समेटिने उनको भनाइ छ ।

झापा जिल्लाको कचनकवलबाट गत फागुन १२ गते सुरु भएको सो अभियान तराई-मधेसका विभिन्न जिल्लाहरू हुँदै सुदूरपश्चिमको कञ्चनपुर पुगेर सम्पन्न गरिएको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.