धनगढी । नेकपा माओवादी केन्द्रले झापाबाट सुरु गरेको तराइ-मधेस जागरण अभियान हिजाे साँझ कैलाली पुगेकाे छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको केन्द्रीय पदाधिकारीको टोली साे अभियानमा सहभागी छन् ।
अभियान टोली सोमबार राति टीकापुर-७,८ र ९ मा बास बसेर आज बिहान सुर्यपुर सत्ती बजारमा मर्निङ वाक गरेकाे माओवादी नेता एवम् सुदूरपश्चिम प्रदेशका पहिलाे मुख्यमन्त्री त्रिलाेचन भट्टले जानकारी दिए । उनका अनुसार आज बिहान टीकापुर- ८ सुर्यपुरमा सहिद परिवार भेटघाट, वडा नं ९ को झुंगामा जनसभा कार्यक्रम गरी अहिले कैलारी गाउँपालिका-५ वैसपुरमा सहिद परिवार भेटघाट कार्यक्रम भैइरहेकाे छ ।
त्यसपछि कैलारी गाउँपालिका-५ वैसपुरमा जनसभा, दिउँसो साढे २ बजेसम्म धनगढी उपमहानगर पालिकाको डिपोबजारमा सहिद परिवार भेटघाट गरी साढे ३ बजे धनगढीको ओम पार्टी प्यालेसमा अन्तरक्रिया कार्यक्रम रहेको छ । त्यसपछि अभियान टोली हुलाकी राजमार्ग हुँदै कञ्चनपुर जानेछ ।