प्रदेशसभा अबरुद्धपछि मुख्यमन्त्री शाहले बाेलाए सर्वदलीय बैठक

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सर्वदलीय बैठक बाेलाएका छन्। प्रतिपक्षी दलहरूकाे अवराेधका कारण प्रदेश सभाकाे बैठक बस्न नसकिरहेका बेला मुख्यमन्त्री शाहले सर्वदलीय बैठक बाेलाएका हुन्।

बैठक अहिले ११ बजे मुख्यमन्त्री तथा मन्त्रीपरिषद्काे कार्यालयमा बस्ने मुख्यमन्त्रीकाे सचिवालयले जनाएको छ। बैठकमा प्रदेश सभाकाे गतिरोध अन्त्य गर्ने र अन्य समसामयिक विषयमा छलफल हुने बताइएको छ। प्रतिपक्षी दलले सरकारले मनलाग्दाे ढंगले राजनीतिक नियुक्ति गरेकाे, जथाभावी बजेट बाडेकाे भन्दै प्रदेश सभामा विराेध गर्दै आएका छन्।

निरन्तर प्रदेश सभा बैठक अवरुद्ध गरेको प्रतिपक्षी दलले तत्काल उच्चस्तरीय संसदीय छानबिन समिति गठन गरेर उक्त विषयमा छानबिनको माग गरिरहेका छ भने सत्ता पक्षले सार्वजनिक लेखा समितिबाटै उक्त विषयमा छानबिन हुने बताएको छ। केही दिन अगाडिमात्र नागरिक उन्मुक्ति पार्टी नाउपाबाट सुदूरपश्चिम प्रदेशमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री भएका लक्ष्मण किशोर चौधरीको आर्थिक लेनदेनसम्बन्धी अडियो सार्वजनिक भएकोमा उनले राजीनामा दिएका थिए।

मन्त्री चौधरीले दिगो वन व्यवस्थापन सम्बन्धी कार्यविधि आर्थिक लाभ लिनेगरी बनाउनेबारे छलफल गरेको अडियो गत साता सार्वजनिक भएको थियो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.