धनगढी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ०८४ सम्म सरकार चल्ने पनि दाबी गरेका छन् । सुदूरपश्चिम प्रदेश सम्मेलनलाई सम्बोधन गर्न सोमबार धनगढी पुगेका सभापति देउवाले धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै यस्तो बताएका हुन् ।
उनले अहिले दुई दल सरकारमा रहेको र सरकार राम्रोसँग चलेको पनि जिकिर गरे । ‘दुईवटा पार्टी सरकारमा छन् । राम्रैसँग चलेको छ । सरकारमा कुनै समस्या छैन,’ उनले भने ।
राजावादीहरूले काठमाडौंमा गरेको प्रदर्शन सामान्य भएको टिप्पणी गरेका छन् । हिजो काठमाडौंमा अद्भुत प्रदर्शन भयो भन्ने हल्ला छ ? भन्दै देउवालाई सञ्चारकर्मीले प्रश्न गरेका थिए । जवाफमा देउवाले भनेका छन्, ‘कहाँ अद्भुत हुन्छ ? केही भएकै छैन ।’ उनले पार्टीको महाधिवेशन समयमै हुने जिकिर गरे ।
काँग्रेस, सुदूरपश्चिम कार्यसमितिको प्रथम प्रदेश सम्मेलनको उद्घाटनका लागि सोमवार बिहान देउवा धनगढी पुगेका हुन। नेपाली काँग्रेसका सुदूरपश्चिम प्रदेश प्रवक्ता सुरत रावत (डोटेली कान्छा)ले सभापति देउवा, महामन्त्रीहरू गगन कुमार थापा र विश्वप्रकाश शर्मा तथा कोषाध्यक्ष उमेश श्रेष्ठ, केन्द्रीय सदस्य शशाङ्क कोइराला लगायतका नेताहरूको टोली धनगढी पुगेको बताए।
नेपाली काँग्रेसका उप–सभापति पूर्णबहादुर खड्का, सह–महामन्त्री महालक्ष्मी उपाध्याय (विना) लगायतका नेताहरू आइतवार नै धनगढी पुगेको थियो। धनगढी उपमहानगरपालिका–४ सहिद गेट नजिक रहेको सौराई पार्टी प्यालेसमा काँग्रेसको प्रदेश सम्मेलन हुँदैछ।
पार्टी सभापति देउवाले मङ्गलवार प्रशिक्षक प्रशिक्षण कार्यक्रमको पनि उद्घाटन गर्ने छन्। नेपाली काँग्रेसले सुदूरपश्चिमका प्रशिक्षकहरूलाई प्रशिक्षण दिने भएको हो।