माग पूरा नभए कामकाज ठप्प गर्ने सुदूरपश्चिम लेखा समूहका कर्मचारीको चेतावनी

धनगढी । सुदूरपश्चिममा कार्यरत लेखा समूहका कर्मचारीले आफुहरुले अघि सारेका माग पूरा नभए कामकाज नै ठप्प पार्ने चेतावनी दिएका छन्। प्रदेश निजामती सेवा ऐन र नियमावली निर्माण गर्दा विभेद गरिएको भन्दै उनीहरुले कामकाज नै ठप्प पार्ने चेतावनी दिएका हुन्।

लेखा समूहका कर्मचारीले वित्तृविकास रोकिने गरी कानुन निर्माण गरी विभेद गरिएकोले माग पूरा नभए भोलि (विहिबार) देखि कामकाज ठप्प पार्ने कर्मचारीको चेतावनी छ। प्रशासन सेवातर्फ नवौँ तहमा बढुवाका लागि सामान्य प्रशासन समूहका कर्मचारीले मात्र प्रतिस्पर्धा गर्न पाउने ऐन तथा नियमावलीको व्यवस्थाले आफूहरुको वित्तृविकासलाई रोकेको लेखा अधिकृत कृष्णबहादुर शाहीले बताए। 

प्रशासन सेवाको बढुवामा आफूहरुले पनि प्रतिस्पर्धा गर्न पाउनुपर्ने माग गरेकाे भन्दै उनले भने, ‘हामीले ऐन निर्माण हुँदादेखि आवाज उठाइरहेका छौँ; तर सुनुवाइ भएन, त्यसैले बाध्य भएर भोलिदेखि कामकाज नै ठप्प पार्ने निर्णयमा पुगेका हौँ।’ 

प्रदेश सरकारले ल्याएको प्रदेश निजामती सेवा ऐन र नियमावलीमा लेखा समूहका कर्मचारीका लागि विभेदपूर्ण नियम ल्याइएको निजामती कर्मचारी युनियनका कैलाली जिल्ला अध्यक्ष खेमराज जोशीको भनाइ छ। उनले सरकारले आफ्ना कर्मचारीमाथि विभेद गर्न नहुने बताए ।

वित्तृविकास सुनिश्चितताको माग गर्दै लेखा समूहका कर्मचारीले मुख्यमन्त्री कमलबहादुर शाह, आर्थिक मामिला मन्त्री बहादुरसिंह थापा तथा प्रदेशका प्रमुख सचिव डा. कमलप्रसाद पोखरेललाई ज्ञापनपत्र समेत बुझाएका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.