धनगढी । सुदूरपश्चिममा पाँच पदका लागि भएको उपनिर्वाचनमा चारमा नेपाली काँग्रेस र एकमा नेकपा एमाले विजयी भएका छन् । काँग्रेसले चारवटै वडा अध्यक्ष पदमा जित हासिल गर्दा एमालेले भने उपाध्यक्षमा चुनाव जितेको हो ।
उपनिर्वाचन भएका पाँचमध्ये तीन पद (एक उपाध्यक्ष र दुई वडा अध्यक्ष) मा ०७९ सालको निर्वाचनमा नेपाली काँग्रेस विजयी भएको थियो । यस्तै नेकपा एमाले र माओवादी केन्द्रले भने एउटा/एउटा वडा अध्यक्ष जितेका थिए । वडा अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा भने एमाले र माओवादी केन्द्र पराजित भएका छन् ।
बझाङको सुर्मा गाउँपालिका– ४ मा नेकपा एमालेबाट खोसेर नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । त्यहाँ नेपाली काँग्रेसका धिरेन्द्र पुजारा विजयी भएका छन् । पुजाराले ६ सय ५७ मत प्राप्त गरि विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लखिचन्द्र बोहराले ४ सय ८७ मत प्राप्त गरेका छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार पुष्कर बोहराले १७ मत मात्रै पाए ।
दार्चुलाको दुहुँ गाउँपालिका– ५ मा नेपाली काँग्रेसले माओवादी केन्द्रबाट वडा अध्यक्ष पद खोसेको छ । ०७९ सालको स्थानीय निर्वाचनमा माओवादी केन्द्रका मनोरथ भट्ट वडा अध्यक्ष पदमा निर्वाचित भएका थिए ।
उनको २०८० असारमा मृत्यु भएपछि उपनिर्वाचन हुँदा नेपाली कांग्रेसका धनसिंह कुँवर वडाध्यक्षमा विजयी भएका छन् । कुवर ३७६ मत प्राप्त गरी विजय हुँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका मानसिहं बडालले ३५८ मत प्राप्त गरेका छन् । यस्तै नेकपा माओवादी केन्द्रका वीरसिंह कार्कीले ९८ मत र स्वतन्त्र उम्मेदवार लालसिंह कुवँरले २५ मत प्राप्त गरेका छन् ।
डोटीको पूर्वीचौकी गाउँपालिका–६ को वडाध्यक्षमा कांग्रेसका मोहन थापा निर्वाचित भएका छन् । थापा ४६८ मतका साथ निर्वाचित हुँदा उनका निकट्तम प्रतिस्पर्धी नेकपा एमालेका देव थापाले ३०१ मत पाएका छन् । नेकपा माओवादी केन्द्रका देवीलाल थापाले २६ मत पाउँदा रास्वपाकी जानकी खड्का कुँवरले ३१ मत पाएकी छिन् । १३ मत बदर भएको जनाइएको छ ।
उता कञ्चनपुरमा पनि नेपाली काँग्रेसले विरासत जोगाएको छ । भीमदत्त नगरपालिका–६ को वडाध्यक्षमा नेपाली कांग्रेसका प्रकाश चन्द विजयी भएका छन् । चन्द एक हजार १०७ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका बहादुर चन्दले चार सय ८७ मत पाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका सुशील कुमार भट्टले तीन सय ६९, नेकपा एकीकृत समाजवादी पार्टीका जितेन्द्रबहादुर चन्दले दुई सय २५, राष्ट्रिय स्वतन्त्र पार्टीका रामदत्त भट्टले दुई सय १८, स्वतन्त्र उम्मेदवार थानेश्व लेखकले एक सय ४२ मत पाएका छन् । नागरिक उन्मुक्ति पार्टीका हरिश डगौराले एक सय २७, माओवादी केन्द्रका नानाराम कोलीले एक सय २२ मत पाएका छन् ।
२०७९ सालको निर्वाचनमा पनि यो वडामा नेपाली कांग्रेस विजयी भएको थियो । वडा अध्यक्ष महेन्द्र खड्काको सवारी दुर्घटनामा परेर निधन भएपछि उपनिर्वाचनमा भएको हो ।