
धनगढी । नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगम)को जहाजबाट सोमबार टिकापुर विमानस्थलमा परीक्षण उडान सम्पन्न भएको छ । निगमको जहाज ९एन–एबीयूबाट कैलालीको टीकापुर विमानस्थलमा परीक्षण उडान गरिएको हाे ।
परीक्षण उडानको लागि जहाज नेपालगञ्जबाट स्थानीय समय अनुसार अपराह्न १२ः४५ मा उडान भरी १३ः१५ मा टिकापुर विमानस्थलमा अवतरण भएको थियो । उक्त परीक्षण उडानमा नेपाल वायुसेवा निगम र नेपाल नागरिक उड्डयन प्राधिकरणका प्राविधिकहरूको संयुक्त टोली सम्मिलित रहेको थियाे।
परिक्षण उडान भएपनि नियमित उडानकाे कुनै टङ्गाे छैन् । निगमले जहाजको उपलब्धता भएसँगै नेपालगन्ज–टिकापुर–नेपालगन्ज सेक्टरमा यथासक्य चाँडै नियमित उडान सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ । यसका लागि निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको विशेष निर्देशन रहेको प्रवक्ता रमेश पौडेलको भनाइ छ ।
परीक्षण उडान हुँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरी तथा नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलगायतको समेत उपस्थिति रहेको थियो ।
