सुदूरपश्चिममा माओवादी केन्द्रका नेताहरुको जिम्मेवारी ताेकियाे

धनगढी । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिममा पार्टीका नेताहरुको कार्यविभाजन गरेको छ । केही दिनअघि सम्पन्न प्रदेश पदाधिकारी वैठक र  पार्टी केन्द्रको निर्देशनअनुसार प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेलले जिल्ला, निर्वाचन क्षेत्र, विभिन्न विभाग तथा जनवर्गीय संगठनका मोर्चाहरुमा नेताहरुको जिम्मेवारी बाँडफाँड गरेका हुन् ।

माओवादीले प्रदेशमा कार्यरत केन्द्रीय सदस्यको तीन सदस्यीय कार्यालय गठन गरेको छ । जसमा प्रदेश इन्चार्ज पोखरेल, स्थायी समिति सदस्य खगराज भट्ट र सह इन्चार्ज विना मगर सदस्य छन् । माओवादीले नौ वटै जिल्लाका संघ र प्रदेश निर्वाचन क्षेत्र हेर्ने गरी नेताहरुको जिम्मेवारी तोकेको छ । कैलाली क्षेत्र नम्बर १ मा तिलक परियार, २ मा लालबहादुर सोडारी, ३ मा कृष्णकुमार चौधरी, ४ मा लक्षीराम आचार्य र क्षेत्र नम्बर ५ मा ओमप्रकाश पुनलाई जिम्मेवारी दिइएको छ ।

यस्तै,  डोटीको जिम्मेवारी पूर्वमुख्यमन्त्री त्रिलोचन भट्ट, डडेल्धुरामा कुन्ती जोशी, बैतडीमा नरेन्द्रबहादुर कुँवर, दार्चुलामा लक्ष्मणदत्त जोशी, बझाङमा मीनबहादुर कुँवर र बाजुरामा कर्णबहादुर बिक, अछाम १ मा दीपकबहादुर साउद र २ मा रामप्रसाद तिमिल्सिनालाई जिम्मेवारी दिइएको छ ।

पार्टीका ३२ वटा विभाग तथा ३२ वटा जनवर्गीय संगठन र मोर्चाहरुमा संयोजन गर्ने जिम्मेवारीसमेत बाँडफाड गरिएको सुदूरपश्चिम प्रदेशसभा सदस्य एवम् माओवादी केन्द्रको प्रचार तथा प्रकाशन विभागका संयोजक ओमविक्रम भाट ‘सरल’ले जानकारी दिए । पार्टी स्कूल विभागको संयोजन गर्ने जिम्मेवारी नेता ओमप्रकास पुन र प्रदेश मामिला विभागमा पूर्वमुख्यमन्त्री भट्टलाई दिइएको छ ।

त्यस्तै स्थानीय तह विभागमा जमानसिंह धामी, अनुशासन विभागमा हेमराज भट्टराई, नीति तथा अनुसन्धान प्रतिष्ठानमा रामप्रसाद तिमिल्सेना, सूचना तथा प्रविधि विभागमा शरदसिंह भण्डारी, अर्थ तथा योजना विभागमा मानबहादुर धामी, उत्पादन विभागमा भगत बडुवाल, वन तथा वातावरण विभागमा रमेशसिंह धामी र प्रचार तथा प्रकाशन विभागमा ओमबिक्रम भाटलाई जिम्मेवारी दिइएको छ ।

सुदूरपश्चिम प्रदेशमा पार्टीले जितेका स्थानीय तहलाई नमुना तहको रुपमा विकास गर्न कार्ययोजना बनाउन लागिएको पनि सर्कुलरमा उल्लेख छ । विज्ञहरु सामेल गराएर जनप्रतिनिधिले कार्ययोजना निर्माण गरेर कार्यान्वयन गरिने माओवादी केन्द्रले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.