धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागि दोस्रो पटक प्रदेशसभामा बजेट प्रस्तुत गरेको छ । यसअघि दीर्घ बहादुर सोडारी नेतृत्वको सरकारले ल्याएको पुरानै सिलिङको बजेट शाह सरकारले नयाँ कार्यक्रमका साथ प्रदेशसभामा प्रस्तुत गरेको हो ।
साेमवार आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाले प्रदेश सभामा उक्त बजेट प्रस्तुत गरेका हुन । जसमा चालु तर्फ १२ अर्व ८५ करोड ७४ लाख ५ हजार (४०.६५ प्रतिशत) र पुजिगत तर्फ १८ अर्व ७६ करोड २४ लाख २३ हजार (५९.३२ प्रतिशत) विनियोजन गरिएकाे छ । त्यस्तै वित्तिय व्यवस्था तर्फ एक करोड अर्थात (०.०३ प्रतिशत) विनियोजन गरिएको छ ।
प्रस्तुत गरिएको बजेटमा आगामी आर्थिक वर्षका लागि विनियोजन गरिएको बजेटको खर्च व्यहोर्ने स्रोततर्फ आन्तरिक राजश्व परिचालन १ अर्ब ६० करोड ७० लाख १५ हजार, संघीय सरकारको राजश्व बाँडफाँडतर्फ ९ अर्ब ७९ करोड १९ लाख, संघीय रोयल्टीबाट चार करोड चार लाख ५५ हजार, वित्तीय समानीकरण अनुदान आठ अर्ब ७२ करोड २७ लाख, गत वर्षको बजेटबाट वचत हुने ६ अर्ब १५ करोड ८३ लाख, संघीय सरकारले दिने सर्शत अनुदानतर्फ तीन अर्ब १३ करोड ३४, समपूरक अनुदान एक अर्ब ४२ करोड र विशेष अनुदान ५५ करोड ६० लाख हुने अनुमान गरिएको छ ।
सरकारले बजेट पेश गरेकाे बैठक नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रले भने बहिस्कार गरेका थिए । दुवै दलका सांसदहरुले एउटै आर्थिक वर्षको बजेट दुई पटक ल्याउनु गैरसंवैधानिक हुने दाबी गदै विरोध गरेका थिए । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र संसदीय दलका उपनेता अक्कल बहादुर रावलले सरकारले संवैधानिक विधि र प्रक्रियाबाट मात्र बजेट ल्याउनु पर्ने बताए । प्रतिपक्ष दलले नाराबाजी गरेपछि प्रदेश सभा बैठक २० मिनेटका लागि स्थगित भएको थियो । पुनः बोलाइएको बैठकमा प्रतिपक्षिले बहिस्कार गरेका थिए ।
यस्ता छन कार्यक्रम
बजेटमा भौतिक पूर्वाधार विकासतर्फ सबैभन्दा धेरै १४ अर्ब ६९ करोड ७८, भूमि व्यवस्था कृषि तथा सहकारी क्षेत्रमा २ अर्ब ९१ करोड ६८ लाख, उद्योग पर्यटन वन तथा वातावरण क्षेत्रतर्फ १ अर्ब ८९ करोड ८० लाख, शिक्षा, स्वास्थ्य तथा खेलकुद क्षेत्रतर्फ ६ अर्ब ९५ करोड ९१ लाख बजेट विनियोजन गरेको छ ।
बजेटमा कृषिमा विभिन्न अनुदानका कार्यक्रम राखिएको जनाइएको छ । सरकारले व्यावसायिक तरकारी र फलफूल बगैंचा स्थापना गर्न २३ करोड ६९ लाख बजेट विनियोजन गरेको छ । यस्तै सरकारले १० करोड २३ लाख बजेट विभिन्न कृषि अनुदान कार्यक्रमका लागि बजेट विनियोजन गरेको छ ।
यस्तै आर्थिक मामिला मन्त्री थापाले कृषि सिँचाइका लागि ८ करोड १७ लाख, कृषि मलका लागि २ करोड ५० लाख, पढ्दै कमाउँदै कार्यक्रमका लागि ६० लाख बजेट विनियोजन गरिएको छ । सरकारले बिउ उत्पादनका लागि ५ करोड ४० लाख, पोषण कार्यक्रमका लागि ५ करोड र कृषकको तथ्याङ्क राख्न ९४ लाख बजेट विनियोजन गरेको बजेट व्यक्तव्यमा उल्लेख गरेको छ ।
सडक सञ्जालसँग नजोडिएका बझाङको शैपाल, बैतडीको सिगास, दार्चुलाको अपि हिमाल गाउँपालिकाको केन्द्र जोड्ने सडकलाई उच्च प्राथमिकता दिई निर्माण कार्य अगाडि बढाइने बजेटमा उल्लेख छ । खानेपानी, सरसफाई तथा स्वच्छताका क्षेत्रमा विशेष काम गरिने तथा ऊर्जा, सिँचाइ र नदी नियन्त्रणका लागि बजेट विनियोजन गरिएको छ ।
पर्यटनतर्फ स्व. प्रेमसिंह धामी पर्यटन प्रवर्द्धन सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्था गरिएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण पर्यटन, होमस्टे सञ्चालन तथा विभिन्न सांस्कृतिक संरक्षणका लागि बजेट विनियोजन गरिएको छ । बौद्धिक अपाङ्गता भएको बालबालिकाको लागि शिविर सञ्चालन गरिने छ ।
यस्तै पहलमानसिंह स्वाँर साहित्य तथा साहित्यिक सम्मेलन आयोजना गरिने बजेटमा उल्लेख छ । अपराध न्यूनीकरण गर्न सुरक्षाको दृष्टिकोणले संवेदनशील रहेका क्षेत्र रहेको सीमा क्षेत्रमा अभिलेखीकरण गर्नुका साथै प्रविधि जडान गरिने बजेटमा उल्लेख छ ।