गृहमन्त्री लेखकले गरे प्रहरी ब्यारेक र पेट्रोलपम्पको उद्घाटन

धनगढी । गृहमन्त्री रमेश लेखकले धनगढीमा प्रहरी ब्यारेकको उद्घाटन गरेका छन्। धनगढी उपमहानगरपालिका–२ मा निर्माण गरिएको नवनिर्मित कार्यालय भवन, ब्यारेक भवन, मेस तथा क्वाटर गार्डको बिहिवार उद्घाटन गरेका हुन्।

गृहमन्त्री लेखकले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा निर्माण गरिएका भवनहरूको अवलोकन तथा वृक्षारोपणसमेत गरेका छन। साेक्रममा गृहमन्त्री लेखकले प्रदेश प्रहरीका भौतिक संरचनाहरूले प्रहरीको काम–कारबाहीमा सहयोग पुग्ने बताएका छन्। उनले प्रहरीलाई शान्ति, सुरक्षा र अपराध, अनुसन्धान गर्न तथा रोकथाम र नियन्त्रण गर्न सहज हुने बताएका हुन्।

नागरिकको शान्ति सुव्यवस्था कायम गर्नु एवम् अपराध अनुसन्धान, रोकथाम तथा नियन्त्रण प्रहरीको प्रमुख कर्तव्य भएको उनले बताए। प्रहरीलाई नागरिकका समस्यालाई प्राथमिकतामा राखेर उच्च मनोबलका साथ कार्यसम्पादन गर्न समेत उनले निर्देशन दिए।

प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले प्रहरीको कामकारबाही जनमुखी, पारदर्शी, पक्षपात रहित र जवाफदेही हुनुपर्ने बताएका छन्। समय सापेक्ष परिवर्तित समाजको गति र आम नागरिकको चाहनालाई आत्मसाथ गर्दै नेपाल प्रहरीबाट प्रवाहित सेवा पनि थप परिष्कृत, उत्तरदायी र सेवामुखी बनाउन नेपाल प्रहरी प्रधान कार्यालय प्रतिबद्ध रहेको उनले बताए।

नवनिर्मित भवनले प्रहरी कर्मचारीको स्वास्थ्य र मनोबलमा सकारात्मक प्रभाव पर्ने उनको तर्क छ। सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्की र धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले मन्तव्य व्यक्त गरेका थिए।

नेपाल सरकारको १३ करोड ४० लाख ८ हजार २ सय ३२ रुपैयाँमा भवनहरू निर्माण गरिएका हुन। यसअघि उनले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको परिसरमा निर्माण गरिएको नेपाल प्रहरी कल्याण कोष पेट्रोल पम्पको उद्घाटन गरेका थिए। उनले पेट्रोल पम्पको अवलोकनसमेत गरेका थिए।

नेपाल प्रहरी कल्याण कोषको पाँच करोड ८७ लाख ७८ हजार ४ सय ४५ रुपैयाँ लागतमा धनगढीमा पेट्रोल पम्प तथा पूर्वाधारहरूका निर्माण गरिएको प्रदेश प्रहरीले बताएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.