धनगढी। माओवादी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई दुई तिहाइको घमण्ड नगर्न चेतावनी दिएका छन्।सुदूरपश्चिम प्रदेश पार्टी पदधिकारीहरूको परामर्श बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उनले दुई तिहाइको बलले संविधानमाथि घात गरे प्रतिकार गर्ने बताएका हुन्।
दुई तिहाईकाे दम्भमा सरकार निरंकुश बन्दै गए यहाँ पनि बङ्गलादेश र श्रीलङ्काको अवस्था आउन सक्ने भन्दै चेतावनी दिएका हुन्। ‘दुई तिहाइको घमन्ड चाहिँ नगर्नुस् है, मैले भनेको छु। तपाईँहरु सुध्रिनुस् भनेको छु। राम्रो गर्नुभयो भने हामी समर्थन गर्छौं भनेको छु। दुई तिहाइको घमण्ड गर्नुहुन्छ भने बङ्गलादेश र श्रीलङ्का सम्झिनुस् भनेर सम्झाएको मात्रै हुँ,’ प्रचण्डले भने।
‘उहाँहरूले संविधानमाथि घात गर्नुहुन्छ कि भन्ने आशङ्का पैदा भएको छ। संविधानमा रहेको समावेशी र समानुपातिकको व्यवस्था उहाँहरूलाई मन परेको छैन। त्यसमा दलित, मुस्लिम, महिला, थारूहरूको अधिकार सुनिश्चित गरेको उहाँहरूलाई मन परेको छैन। उहाँहरू ०७२ को संविधानमा माओवादी देख्नुहुन्छ। समानुपातिक भनेपछि माओवादी, समावेशी भनेपछि माओवादी, गणतन्त्र भने पनि माओवादी देख्नुहुन्छ’ प्रचण्डले भनेका थिए।
अध्यक्ष प्रचण्डले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणमा काम नगरे त्यसका विरुद्ध सडकमा उत्रिने बताएका छन्। उनले भ्रष्टाचारमा ५ वर्षको हदम्याद मान्य नहुने पनि बताए । ‘५ वर्षे हदम्याद हामीलाई मात्र होइन नेपाली काँग्रेसलाई पनि स्वीकार हुँदैन होला जस्तो लाग्छ मलाई’ उनले भने। समग्रमा अहिले सुशासनको पक्षमा सामाजिक न्यायको पक्षमा भयानक आर्थिक सङ्कटबाट बाहिर ल्याउन आफ्नो नेतृत्वको सरकार सफल रहेको प्रचण्डको जिकिर थियो ।