धनगढी। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले संसद्का ठूला दलहरु मिलेर बनेको सरकारबाट राजनीतिक र नीतिगत स्थायित्वले अर्थतन्त्रमा सुधार आउने विश्वास व्यक्त गरे । धनगढीमा आयोजित कैलाली उद्योग वाणिज्य सङ्घको ५०औँ स्वर्णिम वर्ष तथा वार्षिक साधारणसभालाई सम्बोधनमा नीतिगत अस्थिरताका कारण अर्थतन्त्रमा ठूलो समस्या देखिएकाले नेपाल राष्ट्र बैंकले हालै ल्याएको मौद्रिक नीतिले अर्थतन्त्र चलायमान हुने बताए ।
सेयर बजारले गति लिन थालेको सन्दर्भ उल्लेख गर्दै अध्यक्ष ढकालले बजारमा माग सृजना गर्न र उत्पादनमूलक क्षेत्रको वृद्धिका लागि सरकारले थप सुधार गर्नुपर्ने आवश्यकता औँल्याए । उले नसङ्घसँगै प्रदेश सरकार स्थायी हुने सम्भावना देखिएकाले प्रदेशमा आर्थिक गतिविधि चलायमान बनाउन प्रदेश र स्थानीय सरकारबीच समन्वय हुनुपर्ने बताए ।
कुल गार्हस्थ्य उत्पादनमा प्रदेशहरुमध्ये छैटौँ स्थानमा रहेको सुदूरपश्चिममा सबैभन्दा बढी गरिबी रहे पनि सम्भावना भने उच्च रहेको बताउँदै अध्यक्ष ढकालले सुदूरपश्चिममा जलस्रोत, पर्यटन मात्र नभएर यहाँको जनशक्ति निकै मेहनती रहेकाले युवाहरुलाई उद्यमशील र विकास निर्माणसँग जोड्नुपर्ने आवश्यकता औंल्याए ।
कार्यक्रममा कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुँवरले सुदूरपश्चिम प्रदेशमा आर्थिक गतिविधि चलायमान बनाउन उद्योग वाणिज्य सङ्घले प्रभावकारी भूमिका खेलिरहेको बताए ।