धनगढी। सुदूरपश्चिम प्रदेशमा चालु आर्थिक वर्षको सुरुवातबाट रोकिएको कर सङ्कलनको कार्य फेरि सुरु भएको छ । प्रदेश सरकारले ‘प्रदेश सामूहिक कर सङ्कलनसम्बन्धी अध्यादेश २०८१’ जारी गरेपछि कर सङ्कलनको कार्य विहीबारबाट नै सुरु भएको हो ।
साउन १ देखि यो कार्य रोकिएको थियो । बिहीबार बिहान बसेको मन्त्रीपरिषद् बैठकले अध्यादेश पारित गरेलगत्तै प्रमाणीकरण र राजपत्रमा प्रकाशितका लागि सो अध्यादेश प्रदेश प्रमुखको कार्यालयमा पठाइएकाेमा प्रदेश प्रमुख मियाँले तुरुन्तै अध्यादेश प्रमाणीकरण गरेको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शैलेशराज ढुङ्गानाले जानकारी दिए ।
प्रमाणीकरण र राजपत्रमा प्रकाशितपछि अध्यादेश ऐन सरहको कानुन बनेको छ । साथै राजस्व सङ्कलनको बाटो खुलेको छ । यसअघिकाे सरकारले बजेटसहित आर्थिक र विनियोजन विधेयक पास गर्न नसक्दा राजस्व सङ्लन र खर्च रोकिएको थियो ।
विश्वासको मतपछि सरकारले चाँडै नै नयाँ बजेट पनि ल्याउने मुख्यमन्त्री कमलबहादुर शाहले बताए । प्रदेशमा देखिएको आर्थिक शून्यतालाई भङ्ग गर्नका लागि सरकारले अध्यादेशमार्फत गाँठो फुकाएको उनकाे भनाई छ।