काँग्रेस-एमालेबीच मन्त्रालय भागबण्डा नमिल्दा शपथ ग्रहणमा ढिलाई

धनगढी। नयाँ सरकार गठनको बाटोमा अगाडि बढेको सुदूरपश्चिम प्रदेशमा मन्त्रालय भागबन्डाको रस्साकस्सी चलेको छ । मुख्यमन्त्री हिजाे पाँच वजेपछि नियुक्त भएका कमलबादुर शाहले कांग्रेस–एमालेबीच मन्त्रालय भागबण्डा नमिल्दा शपथ ग्रहण गर्न पाएका छैनन् ।

काँग्रेसले दुई, नेकपा (एमाले) ले तीन र नागरिक उन्मुक्ति पार्टीले एक मन्त्रालय पाउने गरी सङ्ख्यामा सहमति भए पनि पावर सेयरिङ्गमा विवाद देखिएको छ । खास गरेर मन्त्रालयको विषयमा टुङ्गो नलाग्दा शपथ ग्रहणको समय निश्चित नभएको नेपाली कांग्रेस कैलालीका सचिव नृप सुनारले बताए ।

“मन्त्रालय लिने सङ्ख्यामा कुनै विवाद छैन, तर पावर सेयरिङ्गको विषयमा समस्या देखिएको छ”, उहाँले भन्नुभयो,“बिहान १२ बजेसम्म सबै कुराको टुङ्गो लागे मुख्यमन्त्री र मन्त्रीहरूको शपथ ग्रहण चाँडै हुन्छ ।” 

मन्त्रालय टुङ्गो नलागेका कारण मन्त्री क–कसलाई पठाउने भन्ने पनि टुङ्गो लागेको छैन । नेपाली काँग्रेसको हकमा सिनीयर व्यक्तिहरू मन्त्री बन्नु पर्ने मुख्यमन्त्री कमलबहादुर शाहको चाहना रहेको सुनारले बताए। “यद्यपि, सबै कुरा मिलाउन गाह्रो छ”, उनले भने,“मन्त्रालय सङ्ख्या कम छन् । जातीय, भाैगालिक , लिङ्ग, गुट, उपगुट धेरै कुरा छन् । सबै मिलाउन हम्मे नै हुने गर्दछ ।”

स्रोतका अनुसार कांग्रेसलाई मुख्यमन्त्रीसहित भौतिक पूर्वाधार विकास मन्त्रालय र आन्तरिक मामिला मन्त्रालय र एमालेलाई आर्थिक मामिला मन्त्रालय, सामाजिक विकास मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय दिने तयारी गरिएको छ । त्यस्तै नाउपालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय दिने तयारी गरिएको छ।

अल्पमतमा परेर मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले राजीनामा दिएपछि एमालेकाे सहयोगमा काँग्रेसका शाह दोस्रो पटक मुख्यमन्त्री बनेका हुन। उनलाई नागरिक उन्मुक्ती पार्टीकाे पनि समर्थन रहने बताइएकाे छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.